काठमाडौं– सिंहदरबारभित्र अर्काे चोरी भएको छ। कर्मचारीले नै सिंहदरबारभित्रबाट मोटरसाइकल चोरी गरेका हुन्।

चोरीमा संलग्न कर्मचारी रमेश सुनारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत चैत १ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बा १ ब ९९१३ नम्बरको सेतो प्लेटको सुपर स्प्लेन्डर सरकारी मोटरसाइकल चोरी भएको थियो। मन्त्रालयको स्टोर किपरको अफिस अगाडि पार्किङ स्थलबाट मोटरसाइकल चोरी भएको महानगरीय प्रहरी वृत्त अनामनगरका डिएसपी अपिल बोहराले बताए।

अनुसन्धानका क्रममा सोही मन्त्रालयमा कार्यालय सहयोगीका रुपमा काम गर्ने रमेश सुनुवारले चोरी गरेको खुलेको हो। उनले चितवनको टाँडीमा लगेर सो मोटरसाइकल दिनेश सुनुवारलाई बिक्री गरेका थिए। बुधबार दुवै जनालाई पक्राउ गरी चोरी मुद्दामा कारबाही अघि बढाइएको डिएसपी बोहराले बताए।

सिंहदरबारभित्र दुई महिनाअघि पनि चोरीको घटना भएको थियो। सरकारी चालकले नै सरकारी गाडीका टायर चोरी गरी बिक्री गरेका थिए।

देशको प्रमुख प्रशासकीय केन्द्रमै एकपछि अर्को चोरी हुँदा त्यहाँको सुरक्षा अवस्थामा गम्भीर प्रश्न उठ्दै आएको छ।

नेपाल लाइभ बाट साभार