एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर वैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् । स्थापनापछि पटकपटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन्, कान्तिपुरमा खबर छ ।

२००६ वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । २०१९ सालबाट फुट्न थालेको कम्युनिस्ट पार्टीका दुइटा मूलधारका रूपमा एमाले र माओवादी छन् । अब दुवै दल मिल्न लागेकाले कम्युनिस्ट आन्दोलन नै एकीकृत हुने उनीहरूको तर्क छ । उक्त दिनसम्ममा एकता खाकालाई अन्तिम रूप दिन दुवै दलका कार्यदलले काम गरिरहेका छन् । ‘एकताको खाकासम्बन्धी काम सकिए दिवस नै कुर्नुपर्छ भन्ने छैन, अघि नै पनि गर्न सकिन्छ,’ एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘काम गर्दैगर्दा ढिलो भए एकता दिवससम्म पुग्न सक्छ भन्ने हो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुई दलबीच दुवै अध्यक्षले केन्द्रको संयुक्त नेतृत्व गर्ने सहमति भइसकेको छ । एकीकृत पार्टीको सबभन्दा माथि दुई अध्यक्ष रहनेछन् । त्यसबाहेक अन्य पदाधिकारी नराख्ने तयारी छ ।