काठमाडौं– जिल्ला अदालत नुवाकोटले दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गरेको छ।

जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले तमाङसहित ३ जनालाई दोषी ठहर गरेको हो। जिल्ला अदालतले वडाअध्यक्ष तमाङलाई विभिन्न अभियोगमा कुल ३७ वर्ष कैद सजाय तोकेको छ। उनलाई २ लाख ५० हजार जरिवानाको समेत फैसला भएको स्रेस्तेदार महिमानसिंह विष्टले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतमा लगेर महिला बेचबिखन गर्ने कार्यमा सहयोगीको सक्रिय भुमिका निभाएको प्रमाणीत भएको भन्दै जिल्ला अदालतले शुकमान लामा र टिकाराम तमाङलाई पनि दोषी ठहर गरेको छ। अदालतले उनीहरुलाई जनही ३१ वर्ष र ३० वर्ष कैद र समान २ लाख ५० हजार जरिवाना गर्ने फैसला सुनाएको हो।

अदालतले चेलीबेटी बेचबिखन, कोठी सञ्चालन र जबरजस्ती मानव बचबिखन उद्योग सञ्चालन गरेकोलगायत अभियोगमा उनीहरुलाई दोषी ठहर गरेको हो।

भारतमा बेचिएका युवतीले घर फर्किएपछि सामाजिक संस्थाको सहयोगमा तीनै जना विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए। काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले गत पुस ७ गते पक्राउ गरेको थियो।

अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा उनलाई पेश गरिएको थियो। उनीहरुमाथिको मानव बेचबिखनको मुद्दा काठमाडौं जिल्ला अदालतमा समेत दायर भएको छ। उक्त मुद्दामा उनलाई जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो।

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दाका आरोपित अवतार तामाङ, पासाङ तामाङ र राधा तामाङको मुद्दा भने मुल्तवीमा राखिएको छ। उनीहरु फरार रहेकाले पक्राउ परेको समयमा मुद्दा चल्ने गरि मुल्तवीमा राखिएको अदालतले जनाएको छ।

जिल्ला अदालतबाट धरौटीमा छुटे पनि पुरानो मुद्दामा प्रहरीले पुनः पक्राउ गरेपछि उनी हाल थुनामा छन्।