काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ । खड्काको स्वास्थ्य स्थिति झन्बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ ।
मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्कालाई बुधबारबाट भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको एपोलो अस्पतालको काठमाडौंस्थित सूचना केन्द्रका प्रमुख अर्जुनबहादुर चन्दले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता नयाँदिल्ली लगिएको थियो ।
खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गरेर उनको गृहजिल्ला दाङमा पूजाआजा गरिएको छ । दाङको विजौरी र कोठरीसहितका विभिन्न मन्दिरहरुमा नेता खड्काको स्वास्थ्य लाभको कामना गरेर बिहीबार पूजा गरिएको हो ।










