पुष्प घलान काठमाडाैं, चैत ९ - प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको दबाबमा नपरी जवाफदेही ढंगले काम गर्न निर्देशन दिएपछि मन्त्रीहरुको दौडधूप बढेको छ । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रीहरु सम्बन्धित मन्त्रालयको भावी योजना अध्ययन र अनुगमनमा लागेका छन् ।
मन्त्रालयको मातहातमा रहेका कार्यालय तथा निर्माणधीन आयोजनाको निरीक्षण गर्ने र काममा तीव्रता दिने सबैजसो मन्त्रीहरुले बताईरहेका छन् । प्रधानमन्त्रीको ‘एक्सन’ पछि मन्त्रीहरुले ‘रियाक्सन’ देखाउन थालेका हुन् ।
रक्षामन्त्री ईश्वर पाखरेलले काठमाडौं–निजगढ फास्ट ट्रया्क को निरीक्षण गर्नु भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको दू्रत मार्ग (फास्ट ट्र्याक) को अवलोकन गर्दै रक्षामन्त्री पोखरेलले निर्धारीत समयभित्र आयोजना सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
यस्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनबीच भएको पहिले भएका सन्धि र सम्झौताका बारेमा अध्ययन भइरहेको जानकारी दिनुभयो । उहाँले भारत र चीनका प्रधानमन्त्री र राष्ट्रपतिको नेपाल भ्रमण २०१८ मै हुने गरी छलफल भईरहेको जानकारी दिनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बन्द रहेका उद्योगहरु पुनसञ्चालन गरिने बताउनु भएको छ ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ५ वर्षभित्र नेपालमा रेल गुड्ने गरी काम सुरु भएको दावी गर्नु भएको छ । यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायालयमा व्यापक भ्रष्टाचार भएको गुनासो आइरहेको भन्दै आफू्ले भ्रष्टाचारमुक्त न्यायालय बनाउन विशेष पहल थाल्ने बताउनु भएको छ । उहाँले न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्काल कानून ल्याउने पनि बताउनु भएको छ ।
यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले तीन वर्षभित्र नेपाललाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने दावी गर्नु भएको छ । उहाँले नेपाललाई पाँच वर्षभित्र अर्गानिक कृषि उत्पादन निर्यात गर्ने देश बनाउने घोषणासमेत गर्नु भएको छ ।
उहाँले भूमि व्यवस्थापनका लागि जमिन खण्डिकरण र कित्ताकाट रोक्ने विषयमा पनि छलफल गरेर निर्णय गर्ने बताउनु भएको छ ।
गृहमन्त्री बादलः निरीक्षणमा व्यस्त, प्रहरीसँग खाना गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले एकैदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सुन्धारास्थित केन्द्रीय कारागारको निरीक्षण गर्नु भएको छ । त्यसक्रममा उहाँले कार्यालय समयमा नरहेका कर्मचारीलाई कारवाही गर्ने र कारागारको अवस्था नाजुक रहेकाले स्तरोन्नति गर्ने बताउनु भएको छ । गृहमन्त्री भएपछि उहाँले रेशम चौधरीलाई अनशनस्थलमा पुगेर जुस खुवाउनेदेखि कारागारमा रहेका बालकृष्ण ढुंगेललाई सुटुक्क भेट गर्नु भएको छ । यस्तै उहाँले नक्सालस्थित प्रहरी केन्द्रीय कार्यलयको प्रहरी जवानको मेसको निरीक्षण गर्दै प्रहरी जवानसँगै बसेर खाना खानु भएको छ ।
रेशम चौधरीलाई जुस खुवाएपछि उहाँकाले व्यापक आलोचना भएको छ भने चर्चा आउने काममा लागेको भन्ने गुनासो पनि बढेको छ ।
लालबाबु पण्डितः जो सधैं चर्चामा पहिले सामान्य प्रशासन मन्त्री हुँदा सरकारी कर्मचारीलाई ‘ग्रिन कार्ड’÷पीआर त्याग्न लाएर चर्चामा आएका लालबाबु पण्डितले फेरि पनि उही मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्ती गर्ने चेतावनी दिएपछि उहाँ अहिले फेरि चर्चामा हुनुहुन्छ ।
दक्ष र अनुभवी कर्मचारीको संघीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका रहने भन्दै उहाँले स्वेच्छिक अवकाश दिने पक्षमा सरकार नरहेको बताउनभुयो । नागरिकलाई प्रत्यक्ष अनुभव हुने गरी सेवा प्रवाह गर्न चुस्त दुरुस्त कर्मचारी प्रशासन निर्माणका लागि आफू लागि परेको उहाँले बताउनुभयो ।
दोस्रोपटक मन्त्री र तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका उहाँले वातावरण मन्त्री हुँदा एक वर्ष भित्रमा काठमाडौंलाई माक्समुक्त गर्ने घोषण गर्नु भएको थियो ।
वर्षमान पुन : १० वर्षमा १० हजार मेगावाट विजुली उर्जामन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने बताउनु भएको छ । उर्जाबाटै देशको विकास सम्भव भएको भन्दै उहाले केही वर्षमा नेपाललाई जलविद्युतमा आत्मनिर्भर बनाउने दावी गर्नुभयो ।
उहाँले आयोजना निर्माण नगरी लाइसेन्स होल्ड गर्ने र खोलालाई झोलामा हाल्नेबिरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुभयो ।
गोकर्ण विष्ट : राजधानी बाहिरबाट श्रम स्वीकृति श्रम तथा रोजगार मन्त्रालय र विभाग आर्थिक चलखेल र भ्रष्टाचारमा एक नम्बरमा आउने कार्यालय मानिन्छ । वैदेशिक रोजगारमा जाने कामदारहरुको श्रम स्वीकृति दिने यस कार्यालयमा लाखौंको घुस लेनदेन हुने गरेका घटनाहरु सार्वजानि कभएका छन् ।
उर्जामन्त्री हुँदा महशुल नबुझाएका सरकारी कार्यालयको लाईन काटेर उर्जा क्षेत्रमा उल्लेख्यनीय सुधार गरेका गोकर्ण विष्ट अहिले श्रम तथा रोजगार मन्त्री बन्नु भएको छ । अनियमितता र भ्रष्टचारको अखडा बनेको श्रम मन्त्रालयमा आएपछि उहाँले श्रम शोषणको सैह्य नहुने बताउनु भएको छ । श्रम मन्त्रीमा नियुक्त भए लगत्तै विष्टले बुटवल, जनकपुर र इटहरीमा वैदेशिक रोजगारीको श्रम स्वीकृति लिने कार्यालय खोल्ने निर्णय गर्नु भएको छ । वैदेशिक रोजगारलाई सहज र प्रभावकारी बनाउन तथा स्वदेशमै रोजगारको व्यवस्था गर्न अध्ययन भईरहेको उहाँको भनाई छ ।
यस्तै श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले दरबन्दीमा रहेका बाहेकका कुनै पनि कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन निर्देशन दिनु भएको छ ।
रविन्द्र अधिकारी : पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीले पर्यटक क्षेत्रको विकास र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ । उहाँले सरकारको पर्यटक बढाउने लक्ष्यलाई सार्थक तुल्याउन पनि पर्यटकीय गन्तब्यको प्रवद्र्धनलाई प्राथमिकता दिने बताउनुभयो ।
बीना मगर : दसैँअघि काठमाडौमा मेलम्चीको पानी खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले मेलम्ची खानेपानीको निरीक्षण गर्दै दशैँ अघि नै मेलम्चीको पानी आउने दाबी गर्नु भएको छ । उहाँले आफ्नो कार्यकालमा बाग्मतीमा र्याफ्टिङ र स्विमिङ गर्न सक्ने वातावरण बनाउने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले आउँदो वर्षलाई राष्ट्रिय सरसफाई वर्षको रुपमा घोषणा गर्ने र बाग्मती, विष्णुमती र धोबीखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रयास गर्ने बताउनु भएको छ ।
देखिनेगरी काम हुन बाँकी भएपनि प्रधानमन्त्री र मन्त्रीहरुले केही गरेर देखाउँछन् कि भन्ने नागरिकमा झिनो आशा भने पलाउन थालेको छ ।
-उज्यालो अन्लाइन बाट साभार









