लक्ष्मी काफ्ले/ प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा विकास निर्माणका कार्यले तीव्र गति लिएको छ । अघिल्लो पटक प्रधानमन्त्री छँदा दमकको विकासका लागि ओली सरकारले अघि सारेका विकासका योजनाले गति लिएको हो । पहिलो पटक प्रधानमन्त्री छँदा ओलीले आफ्नो गृहनगरका लागि केही महत्वाकांक्षी योजनाहरु सार्वजनिक गरेका थिए । प्रतिनिधिसभा निर्वाचनमा मलुककै सर्वाधिक मतपरिणामसहित ओली विजयी भएपछि अहिले उनी दोस्रो पटक प्रधानमन्त्री बनेका छन् ।
आफ्नो गृहनगर सम्वृद्ध बनाउनका लागि उनले दमकका जनप्रतिनिधिहरुलाई पटक–पटक निर्देशनसमेत दिने गरेका छन् । त्यसो त दमक नगरपालिकाका मेयर रोमनाथ ओली प्रधानमन्त्री ओलीकै भतिजा हुन् । दमकका लागि सार्वजनिक भएका योजना सफल बनाउन नगरप्रमुख ओली आफैँ लागिपरेका छन् ।
‘योजनाहरु चाँडै सफल गर्नुपर्छ, द्रुत गतिमा काम अघि बढाउनु, सानातिना कुरामा नअल्मिलिनु भन्नुभएको छ प्रधानमन्त्रीज्यूले,’ दमक नगरपालिकाकी उपमेयर गिता अधिकारीले भनिन्, ‘हरित नगर र सम्वृद्ध दमक बनाउन लागिपर्न प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’
पहिलो पटक प्रधानमन्त्री छँदा ओलीले दमकलाई पर्यटकीय रुपमा अघि बढाउने संकल्पका साथ औद्योगिक पार्क, विश्वकै अग्लो बुद्धको मूर्ति, भ्यूटावर, सभाहल लगायतका योजना ल्याएका थिए । सभाहल द्रुत गतिमा बनिरहेको र भ्यूटावर निर्माणकार्य चाँडै सुरु हुने दमक नगरपालिकाले जनाएको छ ।
२ हजार क्षमताको सभाहल
दुई हजारजना अटाउने फाल्गुनन्द सभाहल निर्माणकार्य द्रुत गतिमा भइरहेको दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारीले जानकारी दिइन् । दमक–९ मा निर्माणाधीन यो सभाहल अढाई वर्षभित्र तयार भइसक्नेछ । ‘यो बृहत योजना हो, केही जग्गा दाताबाट प्राप्त भयो, केही नगरपालिकाले पनि खरिद ग¥यो,’ उनले भनिन् ।

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको सहयोगमा सभागृह निर्माणको काम अघि बढेको हो । ०७७ सालमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको हो । डाँफे–एम.ए–प्रतिष्ठा कन्स्ट्रक्सन जेभीले सभागृह निर्माणको ठेक्का पाएको छ । सभागृह निर्माणका सम्पन्न गर्नका लागि २८ करोड ४४ लाख रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।
भ्यूटावर
दमक–३ मा बन्ने भ्यू टावरका लागि जग्गा प्राप्तिपछि डिपिआर तयार भइसकेको बताइएको छ । भ्यूटावरको निर्माणकार्य यसै वर्षबाट सुरु हुने दमक नगरपालिकाले जनाएको छ । ५ बिघा १२ कट्ठा जग्गा प्राप्तीको क्रममा रहेको र ४ बिघा प्राप्त भइसकेको उपमेयर अधिकारीले बताइन् । उनले भनिन्, ‘जग्गा पास गर्ने पक्रिया जारी छ, डिपिआर तयार भइसक्यो ।’
२१ तलाको भ्यूटावरमा वरिपरि पर्यटकीय दृष्टीकोणले नमूना बस्ती बसाल्ने र नमूना बजार स्थापना गर्ने नगरपालिकाको योजना छ । नगरलाई सम्वृद्ध बनाउन र हरियाली सहरको रुपमा दमकलाई विकास गर्न भ्यूटारको योजना ल्याइएको बताइएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत निर्माण हुने भ्यूटावर १ अर्ब ५५ करोड रुपैयाँमा निर्माण गरिसक्ने योजना रहेको उपमेयर अधिकारीले बताइन् ।
आदीवासी रंगशाला
कमल गाउँपालिकामा नामको आदिवासी रंगशालाको निर्माण रहेकिएको छ । आदिबासीको नामबाट निर्माण सुरु भएको उक्त रंगशाला बीचमा नाम परिवर्तन भएर निर्माण रोकिएको हो । निर्माण कार्य रोकिएपछिको दोष भने प्रधानमन्त्री ओलीले पाउने गरेका छन् ।
तीन वर्षयता नाम विवादले निर्माण हुन नसकेको रंगशाला यतिबेला गौचरन बनेको छ । कमल गाउँपालिका–५ निर्माणधीन रंगशाला छ वर्षसम्म निर्माण प्रभावित बन्दा पनि निर्माण समिति र सरकारी निकायले कुनै चासो दिएका छैनन् ।
आदिबासीको नामबाट बन्न लागेको रंगशालाको नाम मदन भण्डारी रंगशाला राख्ने तयारी भएपछि निर्माण हुन नसकेको हो । रंगशालाको नामकै विषयमा कांग्रेस नेतृ महेन्द्रकुमारी सुब्बा र प्रधानमन्त्री ओलीबिच भनाभनसमेत हुने गरेको छ । गत वर्ष दमकमा भएको एउटा कार्यक्रममा ओलीले रंगशालाको बारेमा बोलेपछि कांग्रेस नेतृ सुब्बाले ओलीले बोल्दै गरेको माइकसमेत खोसेकी थिइन् ।
रंगशाला बन्दै गरेको स्थल झापाको दमक, लखनपुर, तोपगाछीलगायत क्षेत्रमा रहेका आदिवासीको पुरानो समाधीस्थल हो । २०६६ सालमा सशस्त्र प्रहरी बल पाथीभरा गणका गणपति रमेश ठाडा मगरले त्यस स्थानलाई रंगशाला बनाउन प्रस्ताव गरे । आदिवासीले भने आफ्ना पुर्खाको समाधीस्थल भएकाले पुर्खाको चिहान नभत्काउन आग्रह गरे ।
तर, आदिवासीको पहिचान झल्कने गरी अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भनेपछि उनीहरू सहमत भएका थिए । आदिवासी रंगशाला तथा स्मृतिपार्क प्रतिष्ठानको नाममा समिति पनि बन्यो । क्षेत्रका आदिवासीका ६ सय ४५ वटा चिहानहरू उत्खनन् गरी रंगशाला निर्माण प्रक्रिया सुरु गरियो । २०६७ बैशाखमा आदिवासी रंगशालाका नाममा तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले उक्त रंगशाला शिलान्यास गरिन् । आर्थिक वर्ष २०६७÷०६८ मा अर्थमन्त्रालयबाट एक करोड रुपैयाँ बजेट विनियोजन भएपछि रंगशाला सम्याउने कार्य भयो ।
तर, एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गरेको समयमा मदन भण्डारी रंगशालाको नाममा बजेट विनियोजन भएपछि रंगशालाको निर्माण रोकिएको हो । दमक नगरपालिकाकी उपमेय अधिकारीले रंगशालाको विषय छलफलमै रहेको बताइन् । ‘अन्तर्राष्ट्रिय रंगशाला बन्ने हो, नामको विवाद छिटै टुंगो लाग्छ,’ उनले भनिन्, ‘विवाद मिलाउनका लागि सरोकारवालासँग छलफल जारी छ ।’
औद्योगिक पार्क
औद्योगिक पार्क निर्माणको तेस्रो चरणको प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ । दमक क्लिन ग्रिन औद्योगिक पार्कलाई केन्द्रीकृत गरेर ठूला सडकहरु पनि टेन्डरको प्रक्रियामा छन् । औद्योगिक पार्कको डिपिआर तयार भइसकेको छ ।
‘हामी तेस्रो चरणमा छौँ, लगानीकर्ताहरु धेरैपटक आएर अध्ययन गरिसके,’ उपमेयर अधिकारीले भनिन्, ‘दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकासँग एकापसमा जोडिने सडक आवश्यक पर्छ, तीनवटा ठूल्ठूला सडक बनाउनुपर्नेछ ।’ दमक–१० को २२ सय बिघा क्षेत्रफलमा बन्न लागेको औद्योगिक पाकर्कको सम्पूर्ण योजना केन्द्रमा पठाइसकिएको नगरपालिकाले जनाएको छ ।
औद्योगिक पार्क स्थापनाका लागि हालसम्मकै सबैभन्दा उच्चस्तरीय चिनिया टोलीले पुस दोस्रो साता निर्माणस्थलको अवलोकन गरेको थियो । चिनिया राष्ट्रपति सि जिनपिङले अघि सारेको बहुचर्चित ‘वान बेल्ट वान रोड’ अन्तर्गत पार्क निर्माण हुने दमक नगरपालिकाले जनाएको छ ।
‘औद्योगिक पार्कको जग्गा मुआब्जाका लागि सर्वसाधारण आइरहेका छन्, सर्वसाधारण एकदमै उत्साही छन्,’ औद्योगिक पार्कका मुख्य सम्पर्क अधिकृत सञ्जय थापाले भने, ‘मुआब्जाको कुरा जग्गा प्राप्ती ऐनले नै तोकेको छ, यसको सबै प्रक्रिया जिल्ला प्रशासन कार्यालयबाट हुन्छ, अहिलेसम्ममा ४२ कित्ताका लागि १८ जनाले निवेदन दर्ता गरिसकेका छन् ।’
विश्वकै अग्लो बुद्धको मूर्ति
दमक–३ मा बन्ने विश्वकै अग्लो बुद्धको मूर्तिका लागि १२ बिघा जग्गा नगरपालिकाको नाममा आइसक्यो । केही जग्गा वनसँग सम्बन्धित भएकाले ढिलाई भइरहेको नगरपालिकाले जनाएको छ ‘प्रदेश कानुन बनिसकेपछि निर्माण प्रक्रिया अघि बढ्छ, यो विश्वकै अग्लो बुद्धको मूर्ति हो, मूर्ति जसरी पनि बन्छ, कुनै शंका छैन,’ उपप्रमुख अधिकारीले भनिन्, ‘बुद्धको मूर्ति दमकका लागि बहुप्रतिक्षित योजना हो, यो योजना सरकारको नीति तथा कार्यक्रममा पनि परिसकेको छ ।’
यस योजनाका लागि डिपिआर तयार भइरहेको उपमेयर अधिकारीले बताइन् । कुल १५ अर्ब ७५ करोड खर्चमा निर्माण हुने बुद्धको मूर्ति २ सय ६५ बिघा क्षेत्रफलमा रहनेछ । केन्द्र र प्रदेशको कानुन बनिसकेपछि निर्माणकार्य सुरु हुने बताइएको छ । मूर्ति ५ सय ४२ फिट अग्लो रहनेछ । ‘यी सबै ठूला योजनाहरुलाई हामीले नगरको सम्वृद्धिको दृष्टिकोणले हेरेका छौँ, दमक नगरलाई हामी ग्रिनबेल्ट सहरका रुपमा स्थापित गर्नेछौँ,’ उपमेयर अधिकारीले भनिन्, ‘दमकमा चाँडै सहरी विकासअन्तर्गत अन्डरग्राउण्ड पार्किङसहितको सपिङ कम्प्लेक्स पनि बन्दैछ ।’
दमक नगरपालिका उत्कृट
जनप्रतिनिधि चयन भएपछि दमक दगरपालिकाले न्याय सम्पादनका क्षेत्रमा धेरै काम गरेको छ । अहिलेसम्ममा ७५ वटा उजुरी परेकोमा ४० वटाको फैसला गरिसकिएको उपमेयर अधिकारीले बताइन् । ‘लामो समयदेखि अदालतमा परेको एउटा मुद्दा पनि हामीले दुबै पक्षलाई खुशी पारेर निर्णय गरिदियौँ,’ उनले भनिन्, ‘हामीले दुबै पक्षलाई न्याय हुने गरी मुद्दा हेर्नुपर्छ, भावनाका आधारमा निर्णय गर्न मिल्दैन ।’ महिला मात्र नभएर पुरुष पनि हिंशामा पर्ने गरेको उनले बताइन् । बढीजसो जग्गा विवाद, बाटाघाटा, महिलाहरु अन्यायमा परेको, अंशबण्डा र सम्बन्ध बिच्छेदका मुद्दा पर्ने गरेको उपप्रमुख अधिकारीले जानकारी दिइन् ।
दमक नगरपालिका भर्खरै मात्र नेपाल नगरपालिका संघबाट प्रदेश नम्बर १ कै उत्कृट घोषित भएको छ । नगरपालिकाले छिटै गति लिएकाले उत्कृष्ट भएको उपमेयर अधिकारी बताउँछिन् । ‘राजपत्र प्रकाशित गर्नेमा पनि हामी पहिलो भयौँ, नियमहरु धेरै पारित गरियो,’ उनले भनिन्, ‘नगरसभाबाट पारित बजेट तथा कार्यक्रमका आधारमा नगरपालिका उत्कृष्ट भएको हो ।’ सूचनाका क्षेत्रमा दमक नगरपालिका अगाडि रहेको उनले बताइन् । नगरपालिकाले टोकन सिस्टमबाट कर संकलन गरिरहेको छ । अनलाइनबाटै कर तिर्ने व्यवस्था समेत सुरु गरेको छ । नया पत्रिका बाट










