प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनापछि ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् । देशबासीका नाममा सम्बोधन गरी आफ्ना सरकारका प्राथमिकता र नीतिका बारेमा ओलीले विशेष घोषणा गर्न लागेका हुन् । चैतको अन्तिम साता भारत भ्रमणमा जान लागेका ओलीले त्यसअघि नै देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको सरकारमा सहभागी एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सम्बोधनमा समावेश हुने विषयवस्तुका बारेमा गृहकार्य गर्न प्रधानमन्त्री ओलीले सल्लाहकार समूह र विज्ञहरुलाई निर्देशन गरिसकेका छन् । यसैगरी, बिभिन्न मन्त्रीहरुसँग पनि उनले परामर्श गरिरहेका छन् । ‘सम्भवतः एक साताभित्र प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्नुहुन्छ’- उनको सचिवालयका एक कर्मचारीले दैनिक नेपाललाई भने ।

ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा आउन ढिलाई गरेका कारण मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेको छैन् ।

के आउँदैछ ओलीको सम्बोधनमा ?

प्रधानमन्त्री ओलीले पूर्वपश्चिम विद्युतीय रेलमार्ग, रसुवाबाट काठमाडौँ पोखरा हुँदै लुम्बिनीसम्म रेल मार्ग, काठमाडौँमा मोनो रेल, पानी जहाज, धराहरा पुनर्निर्माण, युवाहरुलाई स्वरोजगार परियोजना लगायतका लोकप्रिय योजना घोषणा गर्दैछन् ।

पूर्वाधार विकास, उर्जा र पर्यटनलाई केन्द्रमा राखेर ओलीले सम्बोधनको तयारी गर्न भनेको स्रोतले जनायो ।

-दैनिक नेपाल बाट