चोरी र लागूऔषध अपराधमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई परिक्षार्थीले थुनुवा कक्षबाट एसइइ परीक्षा दिइरहेका छन् । पक्राउ परेका जानकी इङ्गलिश बोर्डिङका शशीशेखर यादव र सिर्जना सेकेण्ड्री स्कुलका संजयकुमार यादवले जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षबाट परीक्षा दिइरहेका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
सिम्बल नं. ०१५६१४० (ल) का शशी फागुन १७ गते लागुऔषध मुद्दामा र सिम्बल नं. ०१५६४०९ (क) का संजय फागुन १२ गते चोरी आरोपमा पक्राउ परेका हुन् । थुनुवा कक्षभन्दा बाहिर मुद्दा अभियोजन शाखाको कोठामा छुट्टै राखेर उनीहरुको परीक्षा लिइएको छ । एक निरीक्षकको निगरानीमा उनिहरुले परीक्षा दिइरहेका छन् ।
विवाह टुंगो लागेकी बालिकाको मृत शरिर फेला
विवाहको टुंगो लागेकी सप्तरीकी एक किशोरीको मृत शरिर फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका ८ का राजाराम मण्डलकी छोरी १७ वर्षीया राधा मण्डलको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
घरदेखि उत्तर आँपको रुखमा प्लाष्टिकको डोरीमा पासो लगाई राधाले आत्महत्या गरेको उनको परिवारका सदस्यले बताए । मृतकको शवलाई उनकी आमा रामसुनैर देवी मण्डलले रुखबाट निकाली आँगनमा ल्याई राखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ ।
घरछेउकै युवकसँग वैशाखमा बिहे गर्ने निधो भएलगत्तै राधाले आत्महत्या गरेको उनकी काकी बिणादेवी मण्डलले बताइन् ।
रोकिराखेको ट्रकमा ठोक्किएर मृत्यु
रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटनामा परेको सप्तरीका एक मोटरसाइकल चालकको शुक्रबार मृत्यु भएको छ । रुपनी गाउँपालिका ६ स्थित पूर्व–पश्चिम राजमार्गमा रोकिराखेको ना.४ख २४७१ नम्बरको ट्रकको पछाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.३३ प १५५६ नम्बरको मोटरसाइकल विहिबार राति ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक रुपनी गाउँपालिका ६ का २८ वर्षीय शम्भु खंगको उपचारका क्रममा राजविराजस्थित अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।
– हेमशंकर सिंह










