वीरगन्ज- एक जोडी श्रीमान र श्रीमतीलाई छुटाउन पर्सा र बाराको प्रहरीले संयुक्त रुपमा बलमिच्याई गरेको घटना खुलासा भएको छ। पर्सा प्रहरीको सहयोगमा बारा प्रहरीले २५ बर्षे किरण गुप्ताको सिउँदो शुक्रवार मध्यरातमा पखालेर नियन्त्रणमा लिएपछि उनी प्रहरी नियन्त्रण भित्रै अनशन बसेकी छन्।

घटना विवरण अनुसार किरणले बारा परवानीपुर घर भई वीरगन्ज १० बस्ने सूर्यप्रताप पटेलसंग बैवाहिक नाता कायम गराउन गत बिहीवार जिल्ला अदालत पर्सामा निवेदन दिएकी थिइन्। २ बर्षअगाडि काठमाडौंको गुहेश्वरीमा प्रेम बिवाह गरेका पटेल शुक्रवार अदालत पुगी आफुले उनीसंग बिवाह गरेको र उनीसंग राजीखुसी जीवन बिताउन तयार रहेको प्रतिउतर दिए। न्यायाधीशको आदेश आउन बाँकी छदै प्रहरी टोलीले उनलाई आदालतभित्र इजलासको ढोकाबाट नियन्त्रणमा लिएर पर्सा जिल्ला प्रहरी कार्यालयमा पुर्याए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले आफ्नो कसुर सोध्दा किरण गुप्ताको अपहरणको जाहेरी परेकोले पक्राउ गरिएको प्रहरीले बताए पनि केही बेरमै आइपुगेकी किरणले ‘म यहाँ सशरीर उपस्थित छु, अपहरणको कुरा झुठो हो, मेरो श्रीमानलाई किन नियन्त्रणमा लिएको ? भन्ने प्रश्न गरेपछि प्रहरी नाजवाफ भएको थियो। प्रहरीले पटेललाई तत्कालै नियन्त्रणमुक्त गरे पनि सोधपुछको लागि भन्दै पीडित किरणलाई भने जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्रभित्र नियन्त्रणमा राख्यो। जिल्ला प्रहरी पर्साका राजन लिम्बुले केटा वा केटी कसैमा कुनै कसुर नदेखिए पनि महिलालाई संरक्षण गर्नु पर्छ भरेर किरणलाई आफुहरुले राखेको बताए।

यसरी प्रहरीले संरक्षण भनेकोलाई पीडित युवतिले आफुलाई प्रहरीले बन्धक बनाएको बताइन्। ‘मेरो श्रीमानसंग बस्नु छ मलाई, म बालिग भइसके प्रहरीले मेरो बिरुद्ध किन यस्तो गरेको होला बुझ् सकिन,’ प्रहरी नियन्त्रणमा रहेकी किरणले नागरिकलाई भनिन्, ‘मँ बारा प्रहरी वा माइति जान चाहन्न, मलाई श्रीमानको घर जानु छ।’

मध्यरातमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी भ्यान आयो । पर्सा प्रहरीले किरणलाई राती डिएसपी भुवनेश्वर साहलाई जिम्मा लगाएको पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले बताए । बारा प्रहरीले मध्यरातमा बिवाहित युवतिको सिउँदो पखालेको थियो। शुक्रवार पर्सा प्रहरीले र शनिवार दिनभरी बारा प्रहरीले बिना कसुर युवतिलाई नियन्त्रणमा राखेको थियो । ‘उसको अभिभावकको जिम्मा लगाउनलाई हामीले नियन्त्रणमा राखेका हौं,’ डिएसपी साहले भने, ‘अरु केही पनि होइन।’ उनी अनशन गरिरहेकै अवस्थामा उनको इच्छा बिपरित माइतिको जिम्मा प्रहरीले युवतिलाई लगाएको छ। झुठो मुद्दा दिने माइति पक्षको जिम्मा दिनु ठिक नभए पनि बाराको मामिला भएको र त्यसो गर्नुमा आफ्नो भूमिका नरहेको रेग्मीको भनाई छ।

अदालतमा सुनुवनई भइरहेको प्रक्रियामा हस्तक्षेप गर्दै कसैलाई अदालतको आदेश बिना पक्राउ गर्नु गैरकानूनी भएको जिल्ला अदालत पर्साका श्रेस्तेदार ठाकुर खरेलले बताए। ‘हिजो नाता कायम मुद्दामा आउनु भएकाहरुलाई प्रहरीले यहाँबाट पक्राउ गरेको मैले पनि थाहा पाएँ, अदालतको निर्देशनमा पक्राउ गरिएको चाँही होइन्,’ श्रेस्तादार खरेलले भने। अनुसन्धानका लागि पक्राउ गरे पनि केटा माथी लगाइएको अपहरणको आरोप झुठो थियो भन्ने जानकारी भएपछि आफुहरुले तुरुन्तै छोडीदिएको प्रहरी उपरीक्षक रेग्मीले बताए। दुबै जनाको उमेर बिवाहका लागि कानून अनुसार पुगिसकेको उनले स्विकारे।

जाती नमिलेको कारण र केटीको तुलनामा केटा काम पढेलेखेकोले केटीपक्ष उनीहरुको बिवाहलाई स्विकार गर्न नमानेको पर्सा प्रहरीको बुझाई छ । केटीको घर बारा भएकोले उतै पठाउनु परेको प्रहरी नायब उपरीक्षक लिम्बुले बताए। पटेल १२ कक्षासम्म मात्र पढेका छन् भने श्रीमती किरण स्नातकोत्तर गरेकी छिन्।

केटीपक्षले मोटो रकम खर्च गरेपछि त्यसको प्रभावमा परेर मुद्दै नभएको बिषयमा दुई जिल्लाका प्रहरी अधिकृतहरु यतिबिधि लागेको पीडित पटेलका आफन्तहरुले शनिवार पत्रकार सम्मेलन गरेर आरोप लगाएका छन् । ‘पैसाको चलखेल हो, कत्रोकत्रो मुद्दामा त दुई जिल्लाको प्रहरीबीच तालमेल हुदैन यो मुद्दै नभएको बिषयमा उनीहरु किन यसरी एग्रेसिभ ?,’ पीडित पटेलका दाजुपर्ने सुधीर पटेलले भने, ‘बाराका डिएसपी साहले धेरै नराम्रो र कानून तथा मानव अधिकार मिचेर भूमिका गरेका छन्।’

आफुहरुले किरणलाई सम्झाई बुझाई गर्न चाहेको र उनीले कुरा आवश्य नै बुझ्ने छिन भन्ने विश्वास लिएको युवतिका दाजु पर्ने अजय साहले बताए। घर परिवार उनीहरुको बिहेलाई नमानेको उनको भनाई छ । बिहेको दुई बर्षभित्र युवतिले घरपरिवारको असहमति हुँदा हुँदै पनि पटक पटक श्रीमानको घरमा आएर बस्ने गरेकी थिइन् । यसपाली ७ दिन अगाडी उनी फेरी श्रीमान कहाँ आइपुगेकी थिएन् । केटी पक्षको दबावका कारण आफुहरुले घर छोडेर साथीको घरमा गएर बसेको बेला केही दिन अगाडी रातिको समयमा ससुरालीका मानिसहरु आफ्नो घरमा आक्रमण गरेको पटेलले बताए । उक्त घट्नामा पनि डिएसपी साहले निवेदन समेत लिन नमानेको सुधीरले बताए। प्रहरीले यस अन्तरजातीय प्रेम बिवाहलाई छुटाउन आफ्नो दायरा नाघेर भूमिका गरेको तराई मानव अधिकार रक्षक संजालका आफु सर्राफले बताए। नागरिक न्यूज बाट साभार