परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबारे नेपालले भारत समक्ष औपचारिक प्रस्ताव नपठाएको र उताबाट पनि प्रस्ताव नआएको बताएका छन्।

बिहिबार दिल्लीमा नेपाली सञ्चारकर्मीसँग भारतीय विदेश मन्त्रालयका अधिकारीले प्रधानमन्त्री ओलीले चैत २३ देखि भारतको तीन दिने भ्रमण गर्न लागेको बताएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी भइरहेपनि दुई देशका विदेश मन्त्रालयले मिति तय गरि नसकेको अवस्थामा दिल्लीबाट एक पक्षीय रुपमा मिति सार्वजनिक गरिएपछि कुटनीतिक क्षेत्रमा त्यसले चर्चा पाएको थियो। नेपालको परराष्ट्र मन्त्रालयले लगत्तै भ्रमणबारे तयारी भइरहेपनि मिति निश्चित नभएको प्रष्ट्याएको थियो। काठमाडौंसँग समझदारी नै नगरी दिल्लीले ओलीको भारत भ्रमणको मिति सार्वजनिक गर्न हतारिनुको कारण ओली पहिला चीन भ्रमणमा नजाउन भन्ने रहेको कुटनीतिक क्षेत्रमा विश्लेषण गरिएको छ।

परराष्ट्र मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे आफुले पनि सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै शनिबार बीबीसीसँगको कुराकानीमा कुटनीतिक रुपमा असन्तुष्टी पोखेका छन्। उनले भने, ‘हामीले भ्रमणबारे औपचारिक प्रस्ताव पाएका छैनौं, नेपाली पक्षले पनि त्यसबारे छलफल तथा निर्णय गरेको अवस्था होइन।’

परराष्ट्र मन्त्री ज्ञवालीले दिल्लीले चाहेको मिति, २३ चैतबाट प्रधानमन्त्री ओलीले भारत भ्रमण नगर्ने संकेत गर्दै बरु पहिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणमा आमन्त्रण गरिएको बताए।

‘हामीले भ्रमणको सुरुवात किन उताबाट नहुने भनेर प्रस्ताव पनि गरेका छौं। तर यसलाई प्रतिष्ठा वा दुई देशबीच तानातानको विषयको रुपमा हेरिनुहुन्न’, ज्ञवालीले भने। -नेपाल खबर डट कम बाट