काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियन (इयु) ले हालै सार्वजनिक गरेको नेपालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिवेदनमाथि कडा टिप्पणी गरेका छन्। अनुगमनका नाममा नेपालमा धर्मप्रचार गर्नेलाई फिर्ता पठाइएको प्रतिशोधमा इयुले प्रतिवेदन ल्याएको टिप्पणी प्रधानमन्त्री ओलीको छ।
'अनुगमनको नाममा धर्म प्रचार गर्नेलाई हामीले देशबाट फिर्ता पठाएपछि त्यसको प्रतिशोध साँध्ने गरी इयुले यो प्रतिवेदन ल्याएको हो', आइतबार बिहान काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, 'प्रतिवेदन प्रतिवेदन हुनुपर्छ, प्रतिशोध साँध्नका लागि हुनु हुँदैन।'
भूकम्पको राहत तथा उद्दार र निर्वाचनका बेला कतिपय स्थानमा बाइबल बाँडिएका समाचारहरू आएका थिए। नेपालको संविधानमा रहेको धार्मिक स्वतन्त्रताको विषयमा टिप्पणी गरेर विवादमा तानिएका तत्कालीन बेलायती राजदूत एन्ड्रियु स्पार्क्स नेपालबाट फिर्ता भएका थिए।
प्रधानमन्त्रीले इयुको प्रतिवेदन नेपाल र नेपालीलाई हेप्ने गरी आएको बताए। 'यो प्रतिवेदन नेपाल र नेपालीलाई हेप्ने गरी आएको छ',
'८० प्रतिशत मतदान भएको देशका बारेमा ६० प्रतिशत पनि मत खसाउन नसक्ने देशको युनियनले प्रश्न उठाउने कुनै अधिकार छैन', प्रधानमन्त्री ओलीले भने, 'पहिला उनीहरूले हाम्रो जति मत खसाएर देखाउन्, अनि हामीलाई अधिकारका कुरा सिकाउन्।'
प्रधानमन्त्रीले प्रतिवेदन सच्याउन इयुलाई पुनः आग्रह गरे। 'हाम्रो समाजिक प्रबन्ध, संविधान र अहिलेसम्मको उपलब्धिलाई ठाडै अपमानित गरिएको छ', प्रधानमन्त्रीले भने, 'प्रतिवेदन सच्याउला भनेको त उल्टै निहुँ खोज्दै छ। नेपाल सार्वभौम मुलुक हो भन्ने हेक्का इयुलाई हुनुपर्छ। प्रतिवेदन यथासिघ्र सच्याउ, हेप्ने काम नगर।' छलफल डट कम बाट साभार










