११ चैत्र–नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सांसद योगेशकुमार भट्टराईले वैशाख महिना भित्रै पाथीभरा क्षेत्रमा केबुलकार निमार्णको शिलान्यास हुने बताएका छन् । गृह जिल्ला ताप्लेजुङ आएर फर्किने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै तमोर नदी माथिको पुल उद्धाटन र पाथीभरा क्षेत्रमा निमार्णको शिलान्यास एकैपटक गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
पाथीभरा मन्दिरसम्म पानी पुर्याउने गरी भइरहेको योजनाको विस्तृत अध्यनको प्रतिवेदन समेत वैशाख दोस्रो साता भित्रमा तयार हुने उनले बताए । उनका अनुसार मन्दिर भन्दा ८ किलोमिटर टाढा रहेको क्षेत्रबाट मन्दिर भन्दा ५ सय मिटर तल सम्म पानी ल्याएर त्यहाँ रिजर्भ ट्याङ्की बनाई मन्दिरको तल्लो भेगलाई पानी आपूर्ति गरिन्छ ।
स्थानीय तहदेखि प्रदेश सरकार हुँदै संघीय सरकारसँग पेश गर्ने योजनाका बारेमा छलफल गर्न नेता भट्टराई गृह जिल्ला पुगेका हुन् ।
रिजर्भ ट्याङकीको पानी लिफ्ट प्रणाली जडान गरी मन्दिर सम्म पुर्याउने योजनाका साथ कार्य अघि बढाउन खानेपानी विभाग तयार भएकोले यसको विस्तृत परियोजनाको तयारी थालिएको उनले जानकारी दिए ।
पाथीभरा मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न काफ्ले पाटीसम्म तत्काल कालोपत्रे र सो भन्दा माथी केबुलकार निमार्णको अभियानलाई एकसाथ अघि बढाउने योजना रहेको उनले सुनाए ।
उनले भने, ‘विकासलाई तिव्र गति दिने र जनतालाई प्रत्यक्ष लाभ पुग्ने कामलाई प्राथमिकता दिन सकेमा जनताले साँचो विकासको अनुभूत गर्न सक्नेछन् ।’
उनले एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म जोड्ने सडक निमार्णको कार्यलाई प्रदेश सरकारले सम्बोधन गर्नेगरी प्रस्ताव तयार पार्न यहाँका स्थानीय तहका जनप्रतिनिधि समक्ष आग्रह गरेका छन् ।










