काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आवश्यक भन्दा वढी सार्वजनिक विदाले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पारेको भन्दै उनले विदा कटौती गर्नुपर्ने बताएका छन् । उनले सार्वजनिक विदामा पनि बैंक तथा वितीय संस्थाहरु सुचारु हुनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नृतृत्वमा गएको नेपाल चेम्वरको एक प्रतिनिधिमण्डलसँंग आइतबार गृह मन्त्रालयमा भएको भेटघाटमा मन्त्री थापाले यस्तो बताएका हुन् ।
नेपालमा लगानीको वातावरण सृजना गर्र्नेतर्फ मन्त्रालयले आवश्यक सवै सुरक्षाको वन्दोवस्त मिलाउने उनले बताए । मुलुकभित्रै प्रसस्त उद्योगधन्दा सञ्चालन गरी रोजगारीको सृजना गर्नेगरी औद्योगिक क्रान्ति आवश्यक रहेको उनको भनाई थियो ।
साथसाथै उनले कामका लागि दैनिक विदेश जाने नेपाली जनशक्तिलाई स्वदेशमै रोजगारीको बातावरण बनाउन स्वदेशमा लगानी तथा उद्योगधन्दा सञ्चालन हुनुपर्नेमा जोड दिए । काठमाडौंको ट्राफिक जामको समस्या हटाउन मन्त्रालयले विशेष पहल थालेको जानकारी उनले दिए । चेम्वरले दिएको सुझाबहरुलाई यथाशीघ्र सम्वोधन गर्ने प्रतिवद्धता उनले जनाए । नेपाल जर्नल बाट साभार










