सरकारी खर्च कटौतिको सिद्धान्त अघि सारिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काे प्रशंसायोग्य काम गरेका छन् । ओलीले आफ्नो क्याबिनेटका एकजना सदस्यलाई आफ्नै नीजि निवासमा बस्ने अनुमति दिएका छन्–त्यो पनि निशुल्क !
प्रधानमन्त्री ओलीको अनुमतिमा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा ओलीको नीजि निवास भक्तपुर बालकोटमा बस्न शुरु गरेका छन् । मन्त्री बास्कोटाले आइतबारदेखि बसाई शुरु गरेका हुन् । ओली प्रधानमन्त्री भएसँगै उनको परिवार सरकारी निवास बालुवाटार सरेपछि घर खाली थियो ।
मन्त्री बास्कोटाले ओली परिवारलाई घरभाडावापत कुनै पनि रकम बुझाउनुपर्ने छैन । बास्कोटाको नीजि सचिवालयका अनुसार उनले आवासवापत पाउने सरकारी रकम समेत लिने छैनन् । प्रधानमन्त्रीले आफ्नो क्याबिनेटका मन्त्रीलाई आवासका लागि आफ्नै घर उपलव्ध गराएको यो पहिलो घटना हो ।
मन्त्रीहरुका लागि राज्यले ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा मन्त्री क्वार्टरको व्यवस्था गरेको छ । तर, सबै मन्त्रीलाई पुल्चोकमा पर्याप्त भवन नभएपछि काठमाडौंमा घर हुने आफ्नै घरमा बस्छन् भने अरुले राज्यबाट घरभाडावापत रकम पाउने गर्छन् ।
यद्यपी, मन्त्री बास्कोटाको भक्तपुरकै लोहकिल्थलीमा ३ कोठाको एकतले घर छ । तर, सुरक्षार्मी बस्ने र गाडी राख्ने ठाउँको अभावले गर्दा उनले डेरा खोजिरहेका थिए । उनको स्थायी ठेगाना भने काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकामा पर्छ ।
एमालेको राजनीतिमा सधैं ओलीको निकट रहेर काम गरेका बास्कोटाले यसपटक प्रतिनिधिसभा निर्वाचनमा पनि ओलीपछि दोस्रो लोकप्रिय मत पाएर विजय हासिल गरेका थिए ।
-दैनिक नेपाल बाट साभार









