लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा ‘अड्डा’ जमाएर बसेका ‘डन’ कर्मचारीहरुको सरुवा भएको छ ।
मन्त्री लालबाबु पण्डितले सम्हालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार अध्यागमनका ३१ कर्मचारीको सरुवा गरेको हो । विभिन्न पहुँचका आधारमा लामो समयदेखि अध्यागमनलाई कब्जा गरेर बसेका उनीहरुलाई मन्त्रालयले सरुवा गरे लगतै विभिन्न स्थानीय निकायहरुमा खटाएर पठाएको सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।
सरुवा हुने अध्यागमनका कर्मचारीहरुमा गंगालाल जोशी, चुँडामणि केसी, चुँडामणि चापागाई, अर्जुन पौडेल, बसन्तबहादुर खत्री, प्रविण कोइराला, सुनिलकुमार अधिकारी, दिपकमणि पोख्रेल, माधवप्रसाद अधिकारी, भोजराज ऐडी, दिल्लीराम भट्टराईलगायतका ३१ जना रहेका छन् ।
यसरी सरुवा हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृतसम्मका कर्मचारीहरु रहेका छन् । नेपाली नागरिक वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने र विदेशी नागरिक नेपाल आउने हुँदा अध्यागमन कार्यालय आम चासोको कार्यालय हो । विभिन्न सञ्चार माध्यममा विभिन्न समयमा अध्यागमनका कर्मचारीहरुबाट अवैध आर्थिक लेनदेनको कारोबार हुने गरेको समाचार आउने गरेका थिए ।










