नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले युरोपियन युनियनको प्रतिवेदन जातीय द्वन्द्व बढाउने उद्देश्यबाट आएकाले यसको विरोध गर्नुपर्ने बताउनुभएको छ ।

वसन्तश्रीद्वारा लिखित पुस्तक ‘यार्सा’ को विमोचन कार्यक्रममा उहाँले जातीय युद्ध निम्त्याउने षड्यन्त्रबाट इयुले प्रतिवेदन तयार गरेकामा यसप्रति सबैलाई चनाखो बन्न आग्रह गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता डा. कोइरालाले आर्थिक अवस्था कमजोर भएका खस, आर्यलाई पनि आरक्षणको कुरा गरिएको बताउँदै गाई काटेर खाने वा नखाने प्रश्न ठूलो नभए पनि राष्ट्रिय जनावार भएकाले काट्न नहुने धारणा व्यक्त गर्नुभयो ।

“प्रदेशदेखि केन्द्रसम्म कम्युनिष्टकै बहुमत छ, तर पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति आफ्नो हातमा लिन खोज्दै हुनुहुन्छ, शक्ति पृथकीकरणको बेवास्ता गरिँदैछ,” उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले राज्यका अंगलाई अलग बनाएर निरंकुशताको अभ्यास गरिरहेको छ”

नेता डा. कोइरालाले सरकारले अब विस्तारै मिडियामाथि निगरानी बढाउन सक्ने आरोप पनि लगाउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाही, प्रा डा प्रेम शर्मा, डा. नारायण गड्तौला, डा दीपेन्द्र रोकाया, समाजसेवी वसन्ती शाहीलगायतले पुस्तकले हुम्लाको मात्र नभएर भाषा र संस्कृतिलाई उजागार गरेको बताउनुभयो ।

पुस्तकका लेखक वसन्त रोकायाले साहित्य समाजको चित्र र चरित्र तथा भाषा मानिसको पहिचान र प्राण भएको विचार व्यक्त गर्नुभयो । (रासस)