काठमाडौं- माओवादी केन्द्रले एकीकृत पार्टीको सांगठनिक संरचनामा बराबरी हैसियतको माग गरेको छ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको आसन्न भारत भ्रमण अगावै पार्टी एकताको गृहकार्य सुरु भएसँगै माओवादीले एकीकृत पार्टीमा ५०/५० प्रतिशतको सहभागिता रहनुपर्ने बताएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एकीकृत पार्टीमा दुवै दलको सम्मानजनक हैसियत हुनुपर्ने बताउँदै आएको माओवादीले एकीकरणका लागि समान उपस्थितिका लागि लबिङ गरिरहेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष ओलीसँग भेटेर एकीकृत पार्टीको संगठनमा समान सहभागिता रहनुपर्ने बताएका छन्। पार्टी एकीकरणलाई चुनावी परिणामसँग नजोड्न आग्रह गर्दै दाहालले सिंगो पार्टीको अस्तित्वको सम्मान गर्दै समान हैसियतमा एकीकरण गर्न ओली समक्ष प्रस्ताव गरेका छन्।

अध्यक्ष दाहालले केही दिनअघि काठमाडौंमा भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एकीकृत पार्टीमा माओवादीको हैसियत ५० प्रतिशत रहने दाबी गरेका थिए।

माओवादीका एक नेताका अनुसार, समान हैसियतमा एकीकरण गर्न एमाले तत्काल तयार नदेखिएपछि एकताको समय केही पछाडि धकेलिने देखिएको छ। उनका अनुसार, प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण अगाडि पार्टी एकताको औपचारिक घोषणा गर्न कठिन छ।

प्रधानमन्त्री ओलीले भारत भ्रमण अगावै पार्टी एकीकरण गर्ने प्रस्ताव माओवादी समक्ष राखेका थिए। सोही अनुसार वाम गठबन्धनले तयार गरेको राजनीतिक तथा सांगठनिक कार्यदलले प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पुर्‍याएका छन्।

नेपाल लाइभ बाट