प्रधानमन्त्री केपी शर्मा ओलीले सानो र छरितो सचिवालय र सल्लाहकार समुहको टुंगो लगाउनु भएको छ । आर्थिक मितब्ययिता अपनाउँदै प्रधानमन्त्री ओलीले मुख्य सल्लाहकारसहित तीन सल्लाहकार नियुक्त गर्नुभएको हो ।

यसैगरी स्वकीय सचिव, निजी सचिव र स्वकीय उपसचिव नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीसरह सुबिधा पाउने गरी मुख्य सल्लाहकारमा एमाले पोलिटब्युरो सदस्य बिष्णु रिमाललाई नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषदबाट मुख्य सल्लाहकार रिमालसहित जनसम्पर्क सल्लाहकारमा एमाले नेता अच्युत मैनाली र प्रेस सल्लाहकारमा बरिष्ठ पत्रकार डा कुन्दन अर्याल नियुक्त हुनुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनसम्पर्क सल्लाहकारलाई राज्यमन्त्री सरह र प्रेस सल्लाहकारलाई बिशिष्ट श्रेणीको सेवा सुबिधा तोकिएको छ । प्रधानमन्त्री ओलीले निकै महत्वपुर्ण परराष्ट्र तथा सुरक्षा सल्लाहकार भने नियुक्त गरिसक्नु भएको छैन । केही महिनासम्म परराष्ट्र तथा सुरक्षा सल्लाहकार नियुक्त नगर्ने प्रधानमन्त्रीको योजना रहेको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयतर्फ राजेश बज्राचार्यलाई नियुक्त गर्नुभएको छ भने निजी सचिवमा उपसचिव युवारज दाहाल नियुक्त हुनुभएको छ । प्रमुख स्वकीय सचिव तत्काल नियुक्त नगर्ने योजनाका साथ प्रधानमन्त्री ओलीले बज्राचार्य र दाहाललाई नै प्रमुख स्वकीय सचिवले गर्ने काम बाँडफाँट गरी जिम्मेवारी दिनुभएको हो ।

जसअनुसार बज्राचार्यले तीन जनालाई स्वकीय उपसचिवमा नियुक्त गर्नुभएको छ । स्वकीय उपसचिवमा नियुक्त चेतन अधिकारी, रामशरण बजगाई र दिपेन्द्रप्रसाद दाहाल रहनु भएको छ । तीनमध्ये दाहालले बज्राचार्यको काममा सघाउने र पत्रकार बजगाई र अधिकारीले प्रेस हेर्ने जिम्मा दिइएको छ ।

यसअघि प्रेस सल्लाहकारको मातहत रहने गरी मात्रै पत्रकार नियुक्त हुने गरेकोमा यस पटक प्रधानमन्त्रीले स्वकीय सचिवालयमा रहने गरी दुई पत्रकारलाई स्थान दिनुभएको छ । पत्रकारद्वय अधिकारी र बजगाईले बालुवाटारबाटै प्रधानमन्त्रीको दैनिक गतिबिधिलाई सम्पे्रशन गर्ने जिम्मेवारी पाउनु भएको छ । सवै स्वकीय उपसचिवलाई उपसचिव सरहकोसेवा सुबिधा तोकिएको छ ।

आर्थिक मितब्ययिता अपनाउन प्रधानमन्त्रीले यस पटक पहिलाको भन्दा सेवा सुबिधामा निकै कटौती गर्नुभएको छ । स्वकीय सचिवालयमा तत्काल अन्य सदस्य नियुक्त नगर्ने प्रधानमन्त्रकिो योजना रहेको छ ।

जनता टाइम्स बाट