दीपक सुवेदी
दमक नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिकाको सूचीमा सूचीकृत भइरहँदा दमक नगरपालिकाबाट १३ किलोमिटर पश्चिम दक्षिणमा रहेको गौरादह नगरपालिकामा भने भ्रष्टचार ढिला सुस्ती बढ्दै गएको नगरवासीहरुले आरोप लगाएकाछन् । गौरादह नगरपालिकामा नक्सापास गर्दा, निर्माण सम्पन्न दिँदा र लक्षित वर्गको कार्यक्रम गर्दा व्यापक भ्रस्टाचार बढेको र बिकास निर्माण गर्दा आँखामा छारोमात्र हाल्ने काम हुने गरेको, कमिशनका आधारमा योजना बाँडफाँड गर्ने गरेको तर जनताको वास्तविक समस्याप्रति जनप्रतिनिधिहरु र कर्मचारीहरुले वेवास्ता गर्ने गरेको उनीहरुको भनाइ छ ।
गौरादह नगरपालिकाका तीनवटा वडाहरुले लक्षित वर्ग अन्तर्गतको जेष्ठ नागरिकहरुको बजेट छुट्याएकै छनन् । अरुमा पनि जति छुट्याउनु पर्ने हो त्यति छैन । जेष्ठ नागरिकहरुलाई जीवन शैली, अल्जाइमर आदि सम्बन्धि स्वास्थ्य तालिम आवश्यक भएको भन्दै जेष्ठ नागरिक संघ नगर समितिका अध्यक्ष गोपालप्रसाद काफ्ले जेष्ठ नागरिकहरुले सबै वडा अध्यक्षहरुलाई पनि भेटेको र नगरमा डेलिकेसन जाँदा तपाईंहरुलाई ट्वाइलेट बनाइदिने भन्दै जेष्ठ नागरिकहरुकालाई वेवास्ता गरेको, जेष्ठ नागरिकहरुको आवश्यकता जनप्रतिनिधिहरुले नै नबुझेको र सहयोग नगरेको बताउँछन् । नगरले टोल विकास समिति गठन गर्दा पनि लक्षित वर्गलाई नसमेटेको जेष्ठ नागरिक संघ नगर समितिका अध्यक्ष गोपालप्रसाद काफ्लेको भनाइ छ ।
वडा कार्यालयबाट घर निर्माण सम्पन्न सिफारिस भएको चार महिना वित्यो, संधियारको नाममा सूचना पनि निकालेको कहीँ कतै सबुत प्रमाण सहित रित पूर्वकको उजुरी पनि परेन तर आफूले हालसम्म पनि निर्माण सम्पन्नको कागज नपाएको गौरादह नगरपालिका वडा नं. २ का मोहन खनालले बताए ।
उनले भने नगरका इन्जिनियर सचिन क्षेत्रीले आफूलाई माघ ३० गते आउनु भनेको आफू पटक पटक जाँदा अनेक बाहाना बनाएर टार्ने गरेको बताए । उनले भने –“संधियारहरुले सो कि.न.मा घर नक्सा पासको लागि आफ्नो जग्गा मिचिएको भएमा यस कार्यालयमा यति दिनभित्र सबुत प्रमाण सहित रित पूर्वकको संधियारहरुले दरखास्त दिनु होला उचित कार्वाही हुनेछ । तोकिएको म्यादभित्र दरखास्त पर्न नआएमा पछि उजुरी लाग्ने छैन । ऐन नियमानुसार नक्सा पास भई जाने छ । भनेर किन सूचना प्रकाशित गर्न लगाउनु ?”
गौरादह नगरपालिका वडा नं. २ स्थित नगरपालिकाको कार्यालयदेखि दुई सय मिटर मात्रै दक्षिणमा निर्माण सम्पन्न भएको घरको पदम ढुङ्गानाले पनि निर्माण सम्पन्न भएको ६ महिना बितिसकेको तर दोस्रो चरणको अनुमति पाएका छैनन् । गौरादह नगरपालिका वडा नं. १ का देवीप्रसाद बाँस्कोटाले पनि आफ्नो निर्माणाधीन घरको दोस्रो अनुमति लिन सकस भइरहेको बताए ।
आफूलाई पहिलो अनुमति लिएको ३५ पछिमात्र अर्को अनुमति दिन मिल्ने बताएको तर नगरका इन्जिनिय सचिन क्षेत्रीले उनकै कारणले ढिला भएको र आफूलाई झुलाइ रहेको उनकै कार्य कक्षमा नगर प्रमुख लगेर गुनासो गरेको तर नगरका इन्जिनियर सचिन क्षेत्रीले उल्टै नगर प्रमुखलाई तपाईं आफैँ दिनु होस् भनेको बताए ।
नगर स्तरका एक पार्टीका नेताले नगरमा कर्मकाण्डी, आसेपासे, हुक्के चम्चेहरुको मात्रै काम हुने गरेको, सर्वसाधारणलाई आफ्नो काम सहज रुपले निकाल्न सकस हुने गरेको बताउँदै कर्मचारीहरुले जनताको अभिमत लिएर चुनिएका जनप्रतिनिधिहरुलाई नटेको बताए । नगरपालिकाका इन्जिनियरबाट बनाइएका नक्साहरुमा आफूले त्रुटी फेला पारेको बताउँदै न्यू भिजन इन्जिनियरिङ कन्सल्टेन्सीका निर्देशक भानु आचार्यले कन्सल्टेन्सीबाट निर्माण गरिएका नक्साहरुमा नगरपालिकाका इन्जिनियरले अनेक त्रुटीदेखाएर पास गर्न मान्ने नगरेको र सेवाग्राहीहरुलाई दुःख दिएको कुरा आएपछि आफैँले नगरप्रमुखलाई भेटेर जानकारी गराएको तर हालसम्म पनि उक्त कार्य नरोकिएको बताए ।
वडाको काम सम्पन्न भएको सिफारिस लिएर रकम निकासाको लागि नगरपालिकामा जाँदा पाँचदिन पछिमात्र नगर प्रमुखसँग भेट भएको र नगर प्रमुखको सिफारिस हुँदा हुँदै पनि बारुणयन्त्रको अफिस तथा कर्मचारीको कक्षको पाटेसनको काम सम्पन्न गरेको ६ महिना वितिसक्दा पनि उक्त काम बापतको रकम निकासा हालसम्म नभएको कृष्ण ढुङ्गानाले बताए । उनले भने– “उल्टै नगरका कर्मचारी प्रेम बाँस्तोलाले आफूलाई अममानित गरे ।”
गौरादह नगरपालिकाको वारुणयन्त्र चालक ललित राजवंशीले नगरपालिकाकै एक कर्मचारीले आफ्नो पाँच सय रुपयाँ खाइदिएको आरोप लागाए । राजवंशीले भने– “नगरप्रमुखले वारुणयन्त्र पूजागर्न तीन हजारको सिफारिस दिएको आफूले कर्मचारीले भने अनुसारको सामान र तीन हजारको बिल लिएर जाँदा २५ सयमात्र दिएको र पाँच सय रुपयाँ आफूलाई नदिएको आरोप लागएकाछन् ।
गौरादह नगरपालिकाको ४ नं. वडाको वडा कार्यालयबाट चार किल्ला प्रमाणित गरेको सिफारिस निकाल्दा वडाका कर्मचारी छलिमाया बजगाईंले आफूसँग राजश्व रकमभन्दा बढी रकम लिएको तर आफूले बुझाएको रकम अनुसारको रसिद नदिएको विकास अधिकारीले बताए । कर्मचारी बजगाईं उनको बारेमा यस्ता कुरा आउँदा पटक पटक आफूले यस्तो कार्य नगरेको बताउँदै आएकीछिन् । यस विषयमा आफूलाई कसैले आधिकारिक रुपमा यस विषयमा जानकारी नगराएको ४ नं. वडाका अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक मणिन्द्र कार्कीले बताए ।
हामीले कालोलाई सेतो बनाइदेऊ भनेका छैनौँ । नियमले भेटेको राजश्व तिछौँ समयमा काम गरिदेऊ भनेका छौँ । तर पनि कर्मचारीले विभिन्न बाहनामा सेवाग्राहीलाई झन्झट दिने गरेको बताउँदै दाहाल फर्निचर उद्योगका प्रोपाइटर एवं फर्निचर एण्ड फर्निसिङ व्यवसायी संघका केन्द्रीय सदस्य समेत रहेका राजकुमार दाहाल गौरादह नगरपालिका राजनतिक कार्यकर्ता, आसेपासे र ठेगेदारहरुको मात्र काम गर्ने कार्यालय बन्दै गएको बताए ।
गौरादह नगरपालिका घोषणा भएर कार्य सम्पन्न गर्न थालेदेखि हालसम्म गौरादहमा मापदण्ड पुरा भएका नयाँ चारवटा घर नक्सा र एक सय ५८ वटा मात्र पुराना घर नक्सा पास भएको नगरका इन्जिनियर सचिन क्षेत्रीले बताए । बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धि आधाभूत निर्माण मापदण्ड २०७२ देखाउँदै इन्जिनियर क्षेत्रीले यसदेखि बाहिर गएर आफूले काम नगरेको दाबी गरे । घरहरु धेरै निर्माण भइरहेकाछन् तर बैङ्किङ कार्यको लागि आवश्यक छ भन्दै तत्कालै घरनक्सा पास गरिदिन सेवाग्राहीले दवाव दिने गरेको उनले दाबी गरे ।
तर आफूले नियम विपरित कुनै काम नगरेको बताउँदै इन्जिनियर सचिन क्षेत्री निर्माण कार्यमा के कस्ता प्रक्रियाहरु पूरा गर्नु पर्छ भन्ने थाहा नपाएर, नियम नबुझि आफूसँग सेवाग्राहीहरु रिसाउने गरेको बताए । सेवाग्राहीले नगरसँग परामर्श नगरी बाहिरकाले जे भन्यो त्यसमा लागेर काम गरेकाले पनि यस्ता समस्या आएको उनको भनाई छ । निर्माणका दृष्टिले सबल नगर बनाउन नगर परिषद्ले पास गरेका नीति तथा कार्यक्रमहरु अक्षरस पालन गराउने कार्यमा लागि परेको क्षेत्रीले दाबी गरे ।
नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिहरु बीच काम गराइमा तालमेल नमिलेको भन्दै नगरका लेखाका कर्मचारी राम दाहाल भन्छन्– “कर्मचारी अभाव छ । कामको चाप बढी छ । कर्मचारीहरु समस्यामा परेकोले आफूहरु पेन डाउन गर्ने तरखरमा लागेकाछौँ ।” नगरले हालसम्म पनि निर्माण सम्बन्धि सरोकारवाला तथा सेवाग्राहीहरुलाई कुनै नीति तथा योजनाका बारेमा चेतनामूलक कार्यक्रम गर्न नसकेको सामाजिक विकास समितिका संयोजक मणिन्द्र कार्कीले बताए ।
गौरादह नगरपालिकामा लेखा अधिकृत, अमिन र विभिन्न तहका इन्जिनियरहरुको दरवन्दी छ तर कर्मचारी छैनन् । जसले गर्दा कुनै पनि बिल फस्यौट गर्नु परेमा उपभोक्ताहरु झन्झट व्यहोर्नु परेको बताउँछन् । यतिमात्र होइन नगरले हालसम्म सूचना अधिकृत राख्न सकेको छैन । नगरले सेवाग्राहीहरुलाई सहजरुपमा सुविधा नदिएकको जनगुनासाहरु व्यापक रुपमा आफूसँग आउने गरेको बताउँदै पूर्व सांसद दिपक कार्की समय र कर्मचारी व्यवस्थापनमा नगरपालिकाले ध्यान नदिएको बताउँछन् ।
नगरमा व्यतिथि छ । नगरमासँगै काम गरिरहेका कर्मचारीहरुलाई एउटालाई एक महिना अघि नियुक्ति दिइयो । सँगैकाम गरेको अर्कोलाई एक महिना पछिमात्र नियुक्ति दिइयो किन भेदभाव गरेको ? कार्यालयभित्र कर्मचारीहरुलाई जनप्रतिनिधिहरुले समानताको व्यवहार गर्ने नगरेको बताउँदै जिल्ला समन्वय समितिका सदस्य चन्द्र सुब्वा आफूले अनुगमनका क्रममा मापदण्ड अनुसार बाटाहरु ग्राबेल नभएको आँखामा छारोमात्र हाल्ने काम गरेको पाएपछि नगर प्रमुख रोहितकुमार शाहलाई जानकारी गराउँदा के गर्नु म पनि बाध्यतामा छु भनेर नगर प्रमुखले आफूलाई जवाफ दिएको बताए ।
नगरमा आफूसँग बढीमात्रमा मुद्धामामिला आउने गरेको बताउँदै गौरादह नगरपालिकाकी नगर उपप्रमुख गीता भेट्वाल कर्मचारीहरुको बारेमा जन गुनासाहरु पनि आउने गरेको बताउँदै सबैभन्दा घरनक्सा र बाटोसम्बन्धि नै गुनासाहरु आइरहेको बताउँछिन् । उनले भनिन् “नगरसभा पछि तुरुन्त हामीले नगरको बजेट पनि सार्वजनिक गर्नु पर्ने हो तर अहिलेसम्म गर्न सकेको छैन । गरौँ भन्दा नगरप्रमुख ल ल भन्नु हुन्छ । तर अहिलेसम्म गर्न नसकेको बताइन् ।”
नगरप्रमुख रोहितकुमार शाह
नगरको सूचना अधिकृत हालसम्म नतोकिनुको कारण के हो ? छुट्टै दरबन्दी नभएको र सम्बन्धित निकायबाट परिपत्र नआएकोले पनि सूचना अधिकृत नराखिएको हो । हाललाई इन्जिनियरले नै हेर्ने गरेको छ ।
घरनक्सा सम्बन्धि बढी जनगुनासाहरु आउनुको कारण के हो ? प्रक्रिया पूरा नगरिकन आएका कारणले धेरै यस सम्बन्धि गुनासाहरु आएका हुन् । थोरै कर्मचारी भएकोले योजना अनुगमनमा कर्मचारी व्यस्त भएर पनि यस्तो भएको हो ।
नगरको बजेट हालसम्म पनि सार्वजनिक भएको छैन नी किन ? कहिलेसम्ममा हुन्छ ? प्राथमिकीकरणमा राखेको हो । अरुनै काममा व्यस्त भएर यो हुन सकिरहेको छैन । अब १५ दिनभित्रमा हामी गछौँ ।
कर्मचारीहरुले सेवाग्राहीबाट राजस्व दस्तुरभन्दा बढी रकम लिएर सबै रकमको रसिद नदिने गरेको सेवाग्राहीहरु बताउँछन् नी ? यस्तो अहिलेसम्म केही आएको छैन । कसैले लिखित उजुरी दिए त्यस्ता कर्मचारीलाई कार्वाही हुन्छ ।
गौरादहअनलाइनबाट साभार










