प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध र सुखी नेपाल बनाउने अभियानमा वर्तमान सरकार लागिपरेको बताउुनभएको छ । मुलुकको तीव्र विकास तथा समृद्ध र सुखी नेपाल बनाउने अभियानमा वर्तमान सरकार लागिपर्ने बताउँदै प्रधानमन्त्री ओलीले संविधान र राजनीतिक स्थायित्वलाई सदुपयोग गरेर देशको आर्थिक अवस्थालाई माथि उठाउने स्पष्ट पार्नुभयो ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सातौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकासको नेतृत्व, समृद्धि हासिल र कृषिमा आधुनिकिरण वर्तमान सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै आफ्ना हरेक पाइला विकासको निम्ति हुने बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘‘अहिले मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा परेकाले ऋणात्मक अवस्थामा पुगेको छ,’’ उहाँले भन्नुभयो–‘‘संविधान र स्थायित्वसंगै वर्तमान सरकारले ऋणात्मक पुगेको अर्थतन्त्रलाई माथि उठाउँछ ।’’ प्रधानमन्त्री ओलीले ‘‘म कुरा नभइ काम गर्नका लागि सरकारमा आएको हुँ,’’ भन्दै ‘‘मुलुकमा साच्चै नमूना प्रजातन्त्र बनाएर सिंगो समाज उठाउने छु,’’ बताउनुभयो ।

नेपाललाई अरुले भनेजस्तो सिङ्गापुर, स्वीटजरल्याण्ड नभर्इ यहाँका प्राकृतिक स्रोत साधन प्रयोग गरी नेपाललाई नेपाल नै बनाउने बताउँदै उहाँले अहिलेको सरकार आउनु भनेको मुलुकमा नयाँ युगको थालनी भएको धारणा व्यक्त गर्नुभयो ।

‘‘एउटा सरकारको ठाउँमा अर्को सरकार बन्यो भन्नु मात्र होइन, यो सरकार आउनु भनेको एउटा नयाँ युगको प्रारम्भ विन्दु हो’’ उहाँले भन्नुभयो–‘‘अब गाउँका अधिकार व्यवहारिक रुपमै गाउँमै पु¥याउने हो ।’’

‘‘अहिलेको परिवर्तन राजनीतिक परिवर्तन मात्र नभर्इ समग्र सामाजिक परिवर्तन हो’’ उहाँले भन्नुभयो– “नेपाल भाषिक, जातीय र भौगोलिक हिसाबले विविधतायुक्त समाज भएकाले यसमा बाहिरका मान्छेले खेल्न खोज्ने हुँदा यसप्रति सबैले सजगता र सर्तकता अपनाउनुपर्छ ।” जनताटाइम्स बाट साभार