चैत्र १४,
२०७४ सरकारले जनसंख्याको आधारमा स्थानीय तहमा कर्मचारीको संख्या निर्धारण गरेको छ । सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद्ले मुलुकभर रहेका कुल ८ सय ३० स्थानीय तहमा ५७ हजार ३ सय ५४ कर्मचारी पठाउने निर्णय गरेको हो । सरकारले केन्द्रीय मन्त्रालय मातहत रहने कर्मचारीको संख्यामा समेत व्यापक कटौती गरेको छ । कान्तिपुर अनलाइनले लेखेको छ ।
स्थानीय तहको अन्तरिम संगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषद्ले प्राविधि र प्रशासनिक गरी ५७ हजार ३ सय ५४ कर्मचारीलाई स्थानीय तहमा पठाउन निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । यसमा श्रोणिबिहीन कर्मचारी भने समावेश नभएको बाँस्कोटाले जाकनारी दिनुभयो ।
२५ हजार जनसंख्या भएका गाउँपालिका ३ सय ३४ र सो भन्दा माथि जनसंख्या भएका गाउँपालिका १ सय २६ वटा छन् । यस्तै २५ हजार जनसंख्या भएका नगरपालिका ३१, ५० हजारसम्म जनसंख्या भएका नगरपालिका १ सय ५१ र ७५ हजारसम्म जनसंख्या भएका नगरपालिका १ सय ६८ रहेको सरकारी तथ्याङ्क छ । ७५ हजार भन्दा धेरै जनसंख्या भएका नगरपालिका २६, उपमहानगर ११, महानगर ५ र संघीय राजधानी भएको महानगर एउटा रहेको सरकारको भनाई छ ।
७७ वटा जिल्ला समन्वय समिति सहित मुलुकभर स्थानीय तहको संख्या ८ सय ३० वटा रहेको मुल्याङ्कन गर्दै सरकारले ती कर्मचारी खटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले संघमा रहने २१ मन्त्रालयको संगठन संरचना र दरबन्दी पनि पारित गरेको छ । संघको मन्त्रालयमा रहने दरबन्दी ३ हजार २ सय ६० बाट २ हजार ६ सय ५४ मा झारिएको राज्यमन्त्री बांस्कोटाले जानकारी दिनुभयो । यस्तै सरकारले सार्वजनिक बिदा कटौती गरेको छ । बैठकले आउँदो वर्षका २२ दिन बिदा कटौती गर्ने निर्णय गरेको हो ।










