एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि आज अन्तरिम विधान तयार पारिँदैछ । माधवकुमार नेपाल नेतृत्वको कार्यदलले आज अन्तरिम विधान तयार पारेर एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउँदैछ ।
एमाले र माओवादी केन्द्र एकता गर्न बनेको एकता मस्यौदा कार्यदलले मोटामोटी रूपमा एकताको मस्यौदा तयार पारेको छ । जसले विगतमा एमालेले तोकेको उमेरहदलाई हटाएको छ । एमालेले ७० वर्ष पुगेका नेताहरूलाई सल्लाहकारमा राखी सक्रिय राजनीतिबाट आराम दिने निर्णय गरेको थियो । तर, नवौं महाधिवेशन सम्पन्न भएको तीन वर्ष नपुग्दै त्यो प्रावधान हटाइएको छ । माओवादी केन्द्रसँग एकता गर्नुपर्ने भएकाले ७० वर्षे उमेर हदबन्दी हटाउनुपर्ने अवस्था आएको कारण दिइएको छ ।
माओवादी केन्द्रमा ७० वर्ष कटेका एकजना पनि नेता थिएनन् । सबैभन्दा धेरै उमेर भएका पार्टी अध्यक्ष प्रचण्ड र रामबहादुर थापा बादल मात्र हुन् । दुवैको उमेर समान ६३ वर्ष छ । एमालेमा ७० वर्ष कटेका र अर्को महाधिवेशनबाट नेतृत्व लिन नमिल्ने भएका आधा दर्जन नेताको व्यवस्थापन गर्नुपर्ने भएकाले ७० वर्षे उमेर हदबन्दी हटाइएको छ ।
एकता महाधिवेशनमा केन्द्रीय कमिटी र कार्यकारी पदको उम्मेदवार बन्न ७० वर्षको उमेर हदबन्दी नलाग्ने भएको छ । ७० भन्दा कम उमेरको हुनुपर्ने हदबन्दी राख्ने कि नराख्ने विषयमा दुई दलका नेताबीच विवाद भए पनि अन्तिममा खुला राख्ने सहमति भएको हो ।
‘पार्टी अध्यक्षले नै एकताका बेलामा दुई–चारजना नेता नसमेटिने स्थिति आउन सक्ने भएकाले किन मन दुखाउने भन्नुभएकाले अन्तिममा खुला राख्ने सहमति भयो,’ कार्यदलमा एमालेतर्फका एक सदस्यले भने, ‘पार्टी अध्यक्षले एकता महाधिवेशनमै छलफल गरेर यो कुरा टुंगो लगाउँला भन्नुभएको हो ।’
एमाले उपाध्यक्ष वामदेव गौतमले उमेरहद खुला राख्नुपर्ने लबिङ गर्दै आएका थिए । उनी अहिले ७३ वर्षका भए । दुई वर्षपछि एकता महाधिवेशन भएमा उनी ७५ वर्षका हुनेछन् । सोही कारण उनले एकपटक पार्टी र सरकारको कार्यकारी पद लिएरै छाड्ने मनस्थिति बनाएका छन् । उमेर हदबन्दी हटाउन भन्दै वामदेवले सबैभन्दा धेरै प्रचण्डलाई दबाब दिँदै आएका थिए । वामदेव र प्रचण्डको केमेस्ट्री निकै मिल्ने गरेको छ ।
एमालेमा भरतमोहन अधिकारी जो अहिले कार्यकारी पदमा छैनन्, उनको उमेर ० वर्ष छ । हाल उनी एमालेका सल्लाहकार हुन् । यस्तै, वरिष्ठ नेता झलनाथ खनाल अहिले ६ वर्षका भए । एकता महाधिवेशन हुँदा उनी ७० वर्षका हुनेछन् । उनले पनि कार्यकारी पदमा दाबी गर्न सक्ने भएका छन् ।
एमाले अध्यक्ष केपी ओली अहिले ६७ वर्षका भए । उनी एकता महाधिवेशन हुँदा ६९ वर्षका हुनेछन् । यस्तै, माधवकुमार नेपालको उमेर ६६ वर्ष छ । उनले आगामी महाधिवेशनबाट अध्यक्ष बन्ने चाहना राखेका छन् । अध्यक्ष ओलीसँग नेता नेपालको अहिले विशेष सम्बन्ध कायम भएको छ । स्रोतका अनुसार ओलीले एकता महाधिवेशनपछि अध्यक्ष बनाइदिने नेपाललाई आश्वासन दिएका छन् ।
एमाले सिद्धिलाल सिंह, बेदुराम भुसाललगायतका नेताहरूको सक्रिय राजनीति गर्ने उमेर सकिसकेको छ । तर, उमेर हदबन्दी हटाउने निर्णयले उनीहरूलाई पनि सक्रिय राजनीति गर्ने बाटो खुला भएको छ ।










