हल्दिबारी / झापाको हल्दिबारीमा आज बिहान करेन्ट लागेर एक महिलाको मुत्यु भएको छ । हल्दिबारी गाँउपालिका-३, आँपगाछी टोलकी ६० बर्षीय छबीमायाँ खड्काको बिहान अन्दाजी ८ बजे करेन्ट लागेर मृत्यु भएको बढाबारी प्रहरी चौकीका असई सुलिल चौधरीले जानकारी दिए ।
उनका ७८ बर्षीय श्रीमान टेकबहादुर खड्का घर बाहिर गएको बेला छबीमायाँलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
हात्ती भगाउन घर वरिपरि विछ्याएको बिजुलीको नाङ्गो तारमा छुँदा उनको मृत्यु भएको हो । आफ्नै बारीमा मकै गोड्ने क्रममा उनलाई हात र छातीमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर उनको घटना स्थलमै मृत्यु भएको हो । हात्तीले दुःख दिन थालेपछि उनीहरु आफैले आफ्नो घर बरीपरि करेन्ट विछ्र्याएको बताइएको छ ।
हात्ती भगाउन बेलुका करेन्ट छोड्ने र बिहान बन्द गर्ने गरिएको थियो । आज बिहान लाइन काट्न बिर्सदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्ट मार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ । मृतकका दुई छोरा र एक श्रीमान् छन् । उनका दुबै छोरा बैदेशिक रोजगारमा बिदेश छन् ।










