ओखलढुंगा– दिउँसै मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा ओखलढुंगाका एक वडाअध्यक्ष पक्राउ परेका छन्। मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौज गर्ने चम्पादेवी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

स्थानीयले उजुरी गरेपछि खत्रीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले बताए। ‘दिउँसै मदिरा सेवन गरेर कार्यालयमा होहल्ला गरेको भनेर स्थानीयले उजुरी गरेपछि हामीले वडाअध्यक्ष खत्रीलाई नियन्त्रणमा लिएका हौँ, उहाँ अहिले प्रहरीमै हुनुहुन्छ,' शर्माले भने।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खत्री शुक्रबार दिउँसो मदिरा सेवन गरेर वडा कार्यालय पुगेका थिए। अचेत अवस्थामा भेटिएका उनलाई स्थानीयले प्रहरीमा बुझाएका हुन्। खत्री अहिले प्रहरी चौकी कोषभञ्ज्याङको हिरासतमा छन्। उनी साबिकको फेदीगुठ गाविस हालको चम्पादेवी गाउँपालिका ४ मा नेपाली कांग्रेसबाट उमेद्वार भई निर्वाचित वडाध्यक्ष हुन्।

यसअघि मादक पदार्थ सेवन गरेर कार्यकक्षमा आउने झापाको मेचीनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलक न्यौपानेलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो। कार्यालयमा आएका सेवाग्राहीसँग उनले अभद्र व्यवहार गरी गाली गरेका थिए। उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका थिए।

-नेपाल लाइभ बाट