काठमाडौँ- श्रीमतीको हत्या गरी फरार एक जनालाई प्रहरीले २४ घन्टा नबित्दै पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट बेलकोटगढीकी २१ वर्षीय प्रकाश तामाङलाई आज पक्राउ गरेको हो। उनले २३ वर्षीया श्रीमती नमुना लामाको हत्या गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चन्द्रागिरि नगरपालिका–१४ नैकापमा डेरामा बस्दै आएकी श्रीमतीलाई शुक्रबार ३ बजे शरीरका विभिन्न भागमा धारिलो छुरा प्रहार गरी उनले हत्या गरेका थिए। शुक्रबार दिउँसो झगडा भएपछि उनले हत्या गरेका हुन्।

हत्यापछि बस चढेर धादिङ गएका उनलाई प्रहरीले गोगनपानी गल्छीबाट पक्राउ गरेको हो।

६ वर्षअघि उनीहरु विवाह बन्धनमा बाँधिएका थिए। लामो समयदेखि उनीहरुबीच मनमुटाव रहेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।