कञ्चनपुर, १७ चैत– खानेपानी मन्त्री तथा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना मगरले कञ्चनपुरका मतदाता र ७ नम्बर प्रदेशले नै स्यावासी पाउने गरि काम गर्ने बताएकी छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा भएका विभिन्न स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७ नम्बर प्रदेशको प्रतिनिधित्व गर्दै सरकारमा गएकाले खानेपानी मन्त्रालयबाट हुने राम्रा कामको श्रेय समग्र प्रदेशले पाउने बताइन् । मन्त्रालय महिलासङ्ग प्रत्यक्ष जोडिएकाले खानेपानीका लागि धेरै समय खर्चिनुपर्ने अवस्थाको अन्त्य गर्ने उनकाे भनाइ थियाे ।
`खानेपानी मन्त्रालयलाई हेर्ने राज्यको विगतको दृष्टिकोणमा सुधार गर्नुपर्ने देखिन्छ,´ उनले भनिन्, `सरकारको आगामी नीतिमा खानेपानीलाई प्राथमिकतामा राख्ने गरि पहल गर्छु ।´ हाल खानेपानी पुगेका ठाउँमा आधारभूत खानेपानी मात्रै पुगेको बताउदै उनले सबै नेपालीलाई शुद्ध र स्वच्छ खानेपानी पुर्याउने लक्ष्य रहेको बताइन् ।
काठमाडौवासीलाई खानेपानी सुविधा दिन सकिने गरि मेलम्ची आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न निरन्तर लागिरहेको उनले बताइन् ।
चुनाव प्रचारका क्रममा निर्वाचन क्षेत्रमा गरेका वाचा पूरा गराउन प्रतिवद्ध रहेको बताउदै उनले विभिन्न निकायमा प्रारम्भिक छलफल भएको बताइन् । `सीमा समस्या, हुलाकी सडकमा ढिलासुस्ती, नदी कटान लगायतका समस्या समाधानका लागि काठमाडौ फर्केपछि थप छलफल गर्छु,´ उनले भनिन् ।
मन्त्री भएपछि पहिलो पटक निर्वाचन क्षेत्रमा आएकी मगर सहिद गेटमा स्वागत, पुनर्वास र बेलौरी उद्योग वाणिज्य संघको बधाई, पुनर्वासमा विधुत बिलिङ काउन्टरको उद्घाटन, आफू पढेको पुनर्वास जनता माविको सम्मान कार्यक्रम, श्रीपुर खानेपानीको सम्मान लगायतका कार्यक्रममा सहभागी भइन् । उनले बेलौरी बजारमा रहेको किसान नेता सहिद भीमदत्त पन्तको सालिकमा माल्यार्पण समेत गरिन् ।
निर्वाचन क्षेत्रमा मन्त्री मगरको भव्य स्वागत गरिएको छ । उनकै पहलमा भोलि (अाइतवार) पुनर्वासमा पाठेघर र स्तन क्यान्सरको जाच शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।










