नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ । अपराह्न तीन बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेसले जनाएको छ ।
उनको पार्थिव शरीर शनिबार राति ९ बजे काठमाडौं ल्याइएको छ । विदेशमा रहेका उनका छोरा अनुराग खड्का नेपाल नआइसकेकाले उनको पार्थिव शरीरलाई सानेपास्थित निवासमा राखिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । । अहिले खड्कालाई श्रद्धाञ्जली दिनेहरुको सानेपा निवासमा भिडभाड छ ।
मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो ।
खड्काको पार्थिव शरीरलाई आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा लगिने कांग्रेस प्रवक्ता शर्माले जानकारी दिए ।
साढे दुई वर्षअघि दिल्लीको एपोलो अस्पतालमा खड्काको मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत फागुनमा उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि दिल्ली लगिएको थियो । दिल्ली लगिएको करिब ४० औं दिनमा ६८ वर्षको उमेरमा खड्काको निधन भएको हो ।










