काठमाडौं । सरकारसँग दुई मन्त्रालय पाउने सहमति भए पनि संघीय समाजबादी फोरममा मन्त्रीका लागि सातभन्दा बढी नेताले दाबेदारी गरेका छन् । अध्यक्ष उपेन्द्र यादवबाहेक अन्य नेताको नाममा विवाद छ । अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने अवस्थामा अन्य एक मन्त्री र एक राज्यमन्त्री आकांक्षीमध्येबाट छान्नुपर्ने हुन्छ ।
एक मन्त्रालयका लागि सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेत्री रेणु यादव, मोे इस्तियाक राई, उमाशंकर अरगरिया, हरिनारायण रौनियारलगायत दाबेदार छन् । पेचिलो दाबेदारी भने श्रेष्ठ र यादवमै रहेको नेताहरू बताउँछन् ।
फोरमले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सरकारमा सहभागी हुने तयारी गरेको छ । संविधान संशोधनबारे सरकारसँग भएको सहमतिको मस्यौदा तयार भइसकेको र मन्त्रालयको संख्यासमेत टुंगो लागेकाले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि हस्ताक्षर गर्ने तयारी भएको हो ।
दुवै पक्षको सहमतिमा संविधान संशोधन गर्ने गरी तयार भएको सम्झौतापत्र प्रधानमन्त्रीको हातमा पुगिसकेको फोरमका वरिष्ठ नेता अशोक राईले बताए ।
सरकारसँग भएको सहमतिअनुसार फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेछ । उसले स्वास्थ्य र सहरी विकास मन्त्रालय पाउने सम्भावना छ ।










