बर्दिबास (महोत्तरी) — सरकारले प्रतिकिमि ५० करोड रुपैयाँको खर्चमा मेची–महाकाली विद्युतीय रेलमार्गको निर्माण थालेको छ ।
पूर्व–पश्चिम राजमार्गकै नजिकबाट निर्माण थालिएको मेची–महाकाली रेल्वेमार्गअन्तर्गत २५ किमि ट्रयाक बनिसकेको छ ।
रेल तथा मेट्रो विकास आयोजनाले महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीसम्म २५ किमि ट्रयाक निर्माण गरेको छ । आयोजनाको बर्दिबासमा रहेको कार्यालयले मुआब्जा वितरणपछि लालबन्दीदेखि बागमति नदीसम्मको थप १८ किमि खण्डमा रेल्वेमार्ग निर्माणको काम थाल्दै छ । आयोजनाका इन्जिनियर विश्व केसीका अनुसार मेची–महाकाली रेल्वेमार्ग पूर्व–पश्चिम राजमार्गभन्दा बढीमा ५ किमि मात्रै टाढा छ ।
५० मिटर चौडाइको मेची–महाकाली रेलमार्ग स्टयान्डर्ड गेजको सिँगल ट्रयाक निर्माण भइरहेको छ । मेचीको काँकडभिट्टादेखि महाकालीको कञ्चनपुरको गड्डाचौकीसम्म विद्युतीय रेलमार्ग निर्माण हुँदै छ । सरकारले काकडभिट्टादेखि बुटवलसम्म रेलमार्गको डिजाइन तयार पारेको छ । बुटवलदेखि गड्डाचौकीसम्मको रेलमार्गका लागि डिजाइनको काम भइरहेको इन्जिनियर केसीले बताए । ‘स्टयान्डर्डगेजको रेलमार्ग निर्माण गरिए पनि भारतको ब्रोडगेजसँग लिंकअप (जोड्न) गर्न समस्या हुँदैन,’ उनले भने, ‘भारतमा १६/३६ एमएमको ब्रोडगेज छ, नेपालको स्टयान्डर्डगेज १५/३६ एमएमको निर्माण भइरहेको छ ।’
मेची–महाकाली रेल्वेमार्गको महोत्तरीको बर्दिबासस्थित निर्माण गरिएको ट्रयाक र पुल । तस्बिर : कान्तिपुर
नेपाल सरकारकै ३ अर्ब ३० करोड रुपैयाँ लगानीमा बर्दिबासदेखि लालबन्दीसम्म २५ किमि रेलमार्गको निर्माण लगभग सकिएको छ । माटो पुरेर ढिस्कोलाई सम्याएर ट्रयाक निर्माण गरिएको छ । पुल र कल्भर्टको निर्माण २५ किमि रेलमार्गमा बनाइने ८ पुलको काम पनि थालिएको छ । इन्जिनियर केसीका अनुसार ३ अर्ब ६० करोड रुपैयाँको लगानीमा पुलको निर्माण जारी छ । ‘२ पुलको निर्माण जारी छ, बाँकी ६ पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ,’ उनले भने, ‘पुलको निर्माण सकिएलगत्तै स्टेसन र हल्टको काम सुरु हुनेछ ।’ रेलमार्गअन्तर्गत पर्ने सर्लाहीको लखनदेही र रौतहटको चाँदी खोलामा पनि पुल बनाउन ठेक्का सम्झौता हुँदै छ ।
रेल तथा मेट्रो विकास आयोजनाले लालबन्दीदेखि बागमति खोलासम्म रेल्वेमार्गको काम अगाडि बढाउन जग्गा अधिग्रहण सुरु गरेको छ । १८ किमिको यो मार्गमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण भइरहेको छ । ‘मुआब्जा बाँडिएलगत्तै अर्को फेजको काम सुरु हुन्छ,’ इन्जिनियर केसीले कान्तिपुरसँग भने, ‘रेल गुडाउन मिल्ने सबै संरचना बर्दिबासदेखि बागमतिसम्म छिट्टै निर्माण हुनेछ ।’
मेची–महाकाली रेलमार्ग ९ सय ४५ किमि लामो हुनेछ । मेची–महाकाली रेल्वेमार्गलाई भारतको ५ सीमावर्ती जक्सनसँग जोडिनेछ । पूर्वमा न्यु जलपाइगुडी–काकडभिट्टा, बथनाहा–कटहरी, जयनगर–बर्दिबास, वीरगन्ज–पथलैया र सुनौली–वुटवल दक्षिण–उत्तर रेल्वेमार्ग भारत सरकारले निर्माण गर्ने सम्झौता छ । दुबै देशका राष्ट्रपतिविच भएको सम्झौताअनुसार भारत सरकारले बथनाहा–कटहरी र जयनगर–बर्दिबास रेल्वेमार्गको निर्माण गरिरहेको छ । दक्षिण–उत्तर जोड्न भारतको जयनगरदेखि जनकपुरसम्म स्लिपर र लिक ओछ्याउने काम जारी छ । अक्टुवरमा जयनगरदेखि कुर्थासम्म ५२ किमिको रेलमार्गको काम सकिँदै छ ।
भारतको ठूलो जक्सन जयनगरबाट बर्दिबाससम्म निर्माण भइरहेको दक्षिण–उत्तर रेलमार्गलाई मेची–महाकाली विद्युतीय रेल्वेमार्गसँग जोडिनेछ । रेल्वेको बाक्लो सञ्जाल रहेको भारतसँग जोडिने नेपालको मेची–महाकाली रेल्वेमार्ग यात्रुवाहक र मालवाहक दुवै हुनेछ । पूर्व–पश्चिम राजमार्गनजिकै रेल्वेमार्गको स्टेसन र हल्ट निर्माण गरिने आयोजनाले जनाएको छ । ‘मेची–महाकाली रेल्वेमार्गको मुख्य स्टेसनहरू राजमार्गनजिकै बनाइनेछ,’ आयोजनाका प्राविधिक अजय यादवले भने, ‘रेल्वेमार्गलाई राजमार्गकै समान्नतरमा कुदाइनेछ ।’
मेची–महाकाली विद्युतीय रेल्वेमार्गको हरेक १० किमिमा यात्रु चढ्ने र ओर्लिने स्टेसन बनाइनेछ । यादवका अनुसार धेरैजसो ठाउँमा रेलको क्रसिङका लागि जक्सनसमेत निर्माण हुनेछ । पूर्व–पश्चिम राजमार्गको सबैभन्दा नजिक १ र टाढामा ५ किमि पर मात्रै रेल्वेमार्ग निर्माण भइरहेको छ ।
विद्युतीय रेल्वेमार्ग ओछ्याउन पर्सा वन्यजन्तु आरक्षण क्षेत्रमा समस्या देखिएपछि बाराको सिमरा पुग्नुपर्ने मेची–महाकाली रेल्वेमार्गलाई निजगढबाटै हेटौंडा रि–रुट गरिएको छ । आयोजनाका अनुसार निजगढ–हैटांैडा–चितवन रेलमार्गका लागि डीपीआर (विस्तृत अध्ययन) भइसकेको छ । आयोजनाले ४ वर्षअघि मेची–महाकाली विद्युतीय रेल्वेमार्गका लागि बर्दिबासदेखि लालबन्दी खण्डमा काम थालेको थियो ।
‘सडक–रेल सञ्जाल पहिलो प्राथमिकता’ जनकपुर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार सडक तथा रेल सञ्जाल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
मन्त्री भएपछि पहिलोपटक गृहनगर जनकपुर आएका मन्त्री महासेठले शुक्रबार सञ्चारकर्मीहरूसँग भने, ‘सरकार देश जोड्ने अभियानमा लागेको छ । ५ वर्षमै मुलुकको मुहार फेरिनेछ । मन्त्री महासेठले निर्माणाधीन जयनगर–जनकपुर–बर्दिबास रेलमार्गलाई निजगढ हुँदै लुम्बिनीसम्म विस्तार गर्ने काम सुरु भएको बताए । उनले भने, ‘पहिलो चरणमा जयनगरदेखि लुम्बिनीसम्म रेल विस्तार हुन्छ । दोस्रो चरणमा केरुङ–काठमाडाैं–पोखरा हुँदै लुम्बिनीसम्म अर्को रेलमार्ग जोडिनेछ ।’
नेपालमा रेल विस्तारमा भारत र चीन दुवै छिमेकी देशको सहयोग आवश्यक रहेको उनले बताए । उनले नेपालमा रेल गुड्न थालेपछि चीन र भारत दुवैलाई लाभ हुने बताए । उनले भने, ‘नेपालको बाटो हुँदै चीन र भारतको व्यापार पनि हुन सक्ने भएकाले रेल्वे सञ्जालले ३ देशलाई फाइदा हुनेछ ।’
मधेसको लाइफलाइन भनिने हुलाकी सडक निर्माणलाई सरकारले विशेष महत्त्व दिएको उल्लेख गर्दै मन्त्री महासेठले आगामी ५ वर्षभित्र हुलाकी सडकको ७५ प्रतिशत काम सम्पन्न हुने दाबी गरे । उनले भने, ‘९ सय ९२ किमि हुलाकी सडक तथा ७ सय ४२ किमि लिंकरोडको निर्माण कार्यलाई तीव्रता दिइएको छ ।’ शिक्षा, स्वास्थ्य तथा आर्थिक रूपले समेत पछि परेको प्रदेश २ का लागि संघीय सरकार विशेष प्याकेज ल्याउने गृहकार्यमा लागेको जानकारी पनि मन्त्री महासेठले दिए । कान्तिपुर दैनिक बाट










