संखुवाासभाको खाँदबारी नगरपालिकाका लेखाप्रमुखलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकामा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा आइतबार प्रहरीले लेखाप्रमुख नवीनकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
आयोगको केन्द्रीय कार्यालयको निर्देशनमा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनलाई आयोगको केन्द्रीय कार्यालय पठाउने तयारी प्रहरीले गरेको छ ।
आर्थिक वर्ष ०७३/०७४ को लेखापरीक्षण प्रतिवेदनमा खाँदबारी नगरपालिकामा करिब पाँच करोड रुपैयाँभन्दा बढीको बेरुजु देखिएको थियो । महालेखाले लेखापरीक्षण गर्दा पाँच करोड ७३ लाख ११ हजार नौ सय ७४ रुपैयाँ बेरुजु देखिएको नगरपालिका स्रोतले जनाएको छ ।
प्रतिवेदनमा स्रेस्ताभन्दा बैंक मौजदात ७६ लाख ४९ हजार नौ सय ९० रुपैयाँ कम देखिएकाले छानबिन गरी जिम्मेवार व्यक्तिबाट असुलउपर गर्नुपर्ने उल्लेख थियो । प्रतिवेदनमा अन्य व्यक्तिका नाममा समेत बेरुजु देखाए पनि लेखाप्रमुखलाई मात्र प्रहरीले नियन्त्रणमा लिएको हो । प्रतिवेदनमा करिब तीन दर्जन भौचरबाट पाँच करोड रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको औँल्याइएको छ ।
अख्तियारले आर्थिक अनियमितता भएको ठहर गरेपछि नगरपालिकाले लेखा शाखाका कर्मचारीलाई नियमित कामबाट हटाएको थियो । प्रतिवेदनले कार्यालय सहयोगीको नाममा समेत बेरुजु देखाएको छ ।
वडाध्यक्षको नेतृत्वमा छानबिन समिति
यही चैत ६ गते बसेको नगरपालिकाको बैठकले भ्रष्टाचार छानबिन गर्न खाँदबारी–५ का वडाध्यक्ष श्यामप्रसाद निरौलाको अध्यक्षतामा छानबिन समिति गठन गरको छ । छानबिन समितिले निर्णय बाहिर ल्याउन नपाउँदै आयोगले लेखाप्रमुखलाई नियन्त्रण लिएको हो ।
नगरपालिकाका कर्मचारीले काठमाडौं जाँदा दैनिक भ्रमण भत्ता भुक्तानी गर्दा प्लेनको इलेक्ट्रोनिक टिकटसँगै पेस गरेको बोर्डिङ पास र सेकुरिटी चेक भएको छाप नलागेको कागजपत्र फेला परेको थियो ।
साथै कागजातमा उडान नम्बर, उडान मितिसमेत मार्करले लेखेर रकम भुक्तानी लिएको पाइएको छ । नगरपरिषद्बाट पारित नभएका शीर्षकमा समेत आपूmखुसी खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ ।
ईनया पत्रिका बाट साभार









