काठमाडौं । एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक मङ्गलबार भोली बस्ने भएको छ । वैठक भोली साँझ ५ बजेलाई डाकिएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको आन्तरिक छलफलपछि मङ्गलबार साँझ बैठक बस्ने भएको हो। प्रतिवेदन तयार नभएकाले एकता संयोजन समितिको बैठक पनि बस्न सकेको थिएन । गत फागुन सात गते बसेको पार्टी एकता संयोजन समितिको बैठक झण्डै डेढ महिनापछि मङ्गलबार बस्न लागेको हो ।

भोलीको बैठकमा पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदन बुझाईने जनाईएको छ । पार्टी एकता गर्ने घोषणा गरेको लामो समयसम्म पनि पार्टी एकताको आधार मानिने प्रतिवेदन तयार नहुँदा एकता प्रकृया लम्बिँदै आएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत फागुन ७ गतेको बैठकमा दुई कार्यदल गठन गर्दै उक्त कार्यदलको प्रतिवेदनका आधारमा पार्टी एकता घोषणा गर्ने सहमति भएको थियो ।

कार्यदललाई सुरुमा १५ दिनको समयसीमा दिएर प्रतिवेदन तयार गर्न भनिए पनि सो समयमा कार्यदलले काम नसकेपछि समय थप गरिएको थियो । दुवै कार्यदलले झण्डै डेढ महिना लगाएर प्रतिवेदन तयार पारेसँगै अध्यक्षद्वय ओली र प्रचण्डले समितिको बैठक बोलाएर प्रतिवेदन बुझ्ने भएका हुन् ।

प्रतिवेदन र त्यसमा समेटिएका विषयवस्तुबारे एकता संयोजन समितिमा बृहद छलफल हुनेछ । त्यसपछि प्रतिवेदनलाई अन्तिम रूप दिने र त्यसैका आधारमा पार्टी एकता गर्ने नेताहरूले बताएका छन् । ‘कार्यदलले प्रतिवेदन एकता संयोजन समितिमा बुझाएपछि प्रतिवेदनमा समेटिएका विषयबारे समितिमा छलफल हुनेछ ।

यसअघि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगावै पार्टी एकता घोषणा गर्ने भनिए पनि आन्तरिक तथा प्राविधिक विषयमा सहमति बाँकी नै रहेकाले नेताहरूले वैशाख ९ गतेलाई पार्टी एकता घोषणाको ‘बटमलाइन’ बनाएका छन् ।

कार्यदल स्तरमा अधिकांश विषयमा पार्टी एकताका आधारमा एमाले र माओवादीबीच सहमति भए पनि पार्टीको चिन्ह, जनयुद्ध र केन्द्रीय समितिममा विवाद भएपछि सहमति जुटेको छैन ।

कार्यदलले यी तीन विषयमा पार्टी एकता समितिमै सहमति खोज्नेगरी प्रतिवेदन तयार पारेको हो । तर, कार्यदलस्तरमा प्रतिवेदनले अन्तिम रूप पाउँदै गर्दा एमाले–माओवादी एकताका लागि ५०–५० को अवधारणा सार्वजनिक भएपछि पुनः एकताबारे विभिन्न प्रश्नहरू उठेका थिए ।

यसअघि असोज १७ गते पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर गरेका एमाले माओवादीले त्यही सहमतिअनुसार ६०–४० को आधारमा गत निर्वाचनमा उम्मेदवार उठाएर चुनाव लडेका थिए । निर्वाचनपछि एमाले ७० र माओवादीले ३० प्रतिशतको हाराहारीमा चुनाव जितेपछि पार्टी एकता गर्दा त्यसैलाई आधार बनाएर एकता गर्नुपर्नेमा एमालेको जोड रहँदै आयो ।

एमालेले यस्तो बताएपछि माओवादीले प्रतिशतका आधारमा नभएर समान हैसियत नभए पार्टी एकता नै हुन नसक्ने चेतावनी दियो । गत साता एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड स्वयम्ले ५०–५० को आधारमा मात्रै पार्टी एकता हुनसक्ने बताएपछि एकता प्रकृयामा नयाँ ट्विस्ट थपिएको थियो ।

यही बीचमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबीच दुई पटक यसबारेमा छलफल समेत भयो । तर सहमति भने हुन सकेन । जसका कारण कार्यदलमा यसबारे कुनै सहमति नभई प्रतिवेदनलाई अन्तिम रूप दिइयो ।

नेताहरूका यी फरक फरक अभिव्यक्ति र अडान सार्वजनिक हुन थालेपछि तल्ला तहका नेता कार्यकर्तामा पार्टी एकता नहुने हो कि भन्ने एक किसिमको आशङ्का नै पैदा भएको छ ।

माओवादीले भनेजस्तै विधानमा जनयुद्ध शब्द र ५०–५० को माग नछोडे पार्टी एकता गर्न असम्भव भएको एमाले नेताहरुले बताउँदै आएका छन् ।

दुवै पक्षका यी अडान कायमै रहे पार्टी एकता हुने भन्दा नहुने सङ्केत बढी देखिन थालेका छन् ।