– सूर्य थापा

बर्ष २०७४ को अन्तिम साता नेपालले जनपद प्रहरीका नयाँ महानिरीक्षक पाउँदैछ । को होला त नेपालको जनपद प्रहरीको नयाँ महानिरीक्षक ? भूगोलको मात्र हैन, भावनाको नेपालमा पनि अहिले यो प्रश्नले उत्तर खोजिरहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धेरैलाई लाग्न सक्छ, यो भूगोलको नेपालसँग मात्र सम्बन्धित प्रश्न हो । तर, चाहेर हैन परिवन्दले भावनाको नेपालमा बसेका नेपालीका लागि पनि यस प्रश्नको अहम् महत्व हुँदोरहेछ । कारण अनेकौ भए पनि सबैभन्दा महत्वपूर्ण चाँहि भावनात्मक प्रोक्सिमिटी नै हो । एउटा भनाइ नै छ, भूगोलको प्रोक्सिमिटीभन्दा भावनाको प्रोक्सिमिटी धेरै माथि हुन्छ। भूगोलबाट भावनाको देशमा पुगेपछि मात्र त्यसको अलि बढी हेक्का हुँदोरहेछ ।

प्रसंग, नेपालको हुनेवाला जनपद प्रहरीको नयाँ महानिरीक्षकको हो। हुन त यो बाहिरबाट टीका लगाएर कसैलाई दिइने राजनीतिक पद हैन । यो पदमा पुग्न दशकौं प्रहरीको बर्दी लगाएकै हुनुपर्छ । तर, बर्दी लगाएर अतिरिक्त प्रहरी महानिरीक्षक वा नायव प्रहरी महानिरीक्षक पुगिसकेपछि प्रहरी महानिरीक्षकको सम्भावित रोष्टरबाट सरकारले रोलक्रम मिचेर पनि छान्न सक्ने कानूनी छुटका कारण यो एक राजनीतिक पदजस्तै भएको छ। यही छुटका कारण विगत लामो समयदेखि प्रहरी महानिरीक्षक बनाउन राजनीतिक चलखेल हुँदै आएको छ। अझ यसका लागि कस्लाई प्रहरी महानिरीक्षकको रोलक्रममा ल्याउने भनेर वरिष्ठ प्रहरी उपरीक्षकदेखि नै बढुवा राजनीति हुने गरेको छ । यो राजनीतिका कारण उच्च प्रहरी अधिकृतहरूबीचको भाइचारा र सौहाद्रता पनि बिग्रँदै गएको छ । आफू बढुवा नहुँदा अदालत धाउने क्रम पनि बढ्दो छ। बर्तमान प्रहरी महानिरीक्षकका लागि भएको राजनीति त इतिहासमै दर्ज भएको छ। तत्कालिन सरकारले बनाउन चाहेर बनाएका अदालतका आदेशले प्रहरी अतिरिक्त महानिरीक्षकबाटै अवकाश पाउँदैछन् भने तत्कालिन प्रमुख प्रतिपक्षले बनाउन चाहेका राजीनामा दिएर त्यही दलबाट निर्वाचित सांसद भएका छन् । यो चरम राजनीतिका कारण सापेक्षरूपमा राजनीतिबाट बाहिर रहेका अतिरिक्त प्रहरी महानिरीक्षक चाँहि प्रहरी महानिरीक्षकबाट अवकाश लिदैँछन् ।

सामान्य अवस्थामा अतिरिक्त प्रहरी महानिरीक्षकबाट नै प्रहरी महानिरीक्षक छानिनुपर्ने हो । तर, यसपटक सामान्यभन्दा अलिक असामान्य परिस्थिति छ ।

यतिधेरै राजनीतिक विवादबाट छानिएका प्रहरी महानिरीक्षकको उत्तराधिकारी चाँहि कसरी प्राप्त हुने होला ? पहिलाजस्तै चरम राजनीतिकरण गर्ने वा विगतको घटनाबाट पाठ सिकेर प्रहरीलाई राजनीतिमुक्त बनाउने अभियानको सुरूवात नै यहीबाट गर्ने ? वरियताक्रम मिचेर फेरि मेरिटोक्रेसीको दोहन गर्ने वा वरियताक्रमलाई मान्यता दिएर प्रहरीतन्त्रमा ब्याप्त गुट र फुटको अन्त गर्ने ? हाम्रा छान्ने कि राम्रा छान्ने ? जनताको आँखामा नबिजाएकालाई छानेर जनमैत्री प्रहरीको अवधारणा अगाडि बढाउने कि अझै पनि पुलिस भनेर जनता तर्साउने छविकै प्रहरीतन्त्रको निरन्तरता दिने ? यी प्रश्नहरूसँगै जोडिएको अहम् प्रश्न चाँहि विधिको सर्वोच्चता र पारदर्शितालाई कायम राख्दै राजनीतिकरणबाट मुक्त प्रहरी बनाउने वर्तमान प्रधानमन्त्रीको प्रतिबद्धता पूरा गर्ने कि त्यसलाई भन्नका लागि भनिएको तोरीलाउरे आश्वासन मात्र बनाउने ? भन्ने नै हो ।

अब अहिलेको कुरा गरौं । सामान्य अवस्थामा अतिरिक्त प्रहरी महानिरीक्षकबाट नै प्रहरी महानिरीक्षक छानिनुपर्ने हो । तर, यसपटक सामान्यभन्दा अलिक असामान्य परिस्थिति छ । सबै अतिरिक्त प्रहरी महानिरीक्षक पनि प्रहरी महानिरीक्षकसँगै अवकाश पाउँदैछन् । यस्तो अवस्थामा नायव प्रहरी महानिरीक्षकबाटै प्रहरी महानिरीक्षक छान्नुपर्ने परिस्थिति सिर्जना भएको छ। यो एक किसिमले राम्रो अवसर पनि हो । अब नियुक्त हुने प्रहरी महानिरीक्षकले केही लामो कार्यकाल पाउनेछन् जसले गर्दा प्रहरीतन्त्रले स्थायित्व पाउनेछ।

अहिले प्रहरीमा केही महिना धेरै बर्दी लगाएका चार नायव प्रहरी महानिरीक्षक छन्। उत्तमकुमार कार्की, छविलाल जोशी, पवन खरेल र ज्ञानबिक्रम शाह त्यस्ता नायव प्रहरी महानिरीक्षक हुन् । यिनीहरूमध्ये कुनै एकलाई प्रहरी महानिरीक्षक बनाउँदा तीन महिने प्रहरी महानिरीक्षक मात्र बन्नेछन् जसले गर्दा यिनीहरूमध्ये कोही एकको काँधमा प्रहरी महानिरीक्षकको फुली त होला तर त्यसले प्रहरीतन्त्रमा स्थायित्व ल्याउन सक्दैन । यो निष्कर्षमा बर्तमान प्रधानमन्त्री र गृहमन्त्रीसमेत पुगेकाले अबको प्रहरी महानिरीक्षकका लागि त्यसपछिको पालोमा रहेका आठ नायव प्रहरी महानिरीक्षकतिर नै सबैको ध्यान खिचिएको छ। यो क्रममा रहेका नायव प्रहरी महानिरीक्षकहरू हुन्, सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की, धीरु बस्न्यात, राजेन्द्रमान श्रेष्ठ, ठुले राई, मनोज न्यौपाने र सुरेशविक्रम शाह ।

सरकारको रोष्टरमा सबैभन्दा माथि उपलब्ध छन्, सर्वेन्द्र खनाल । उनलाई रमेश खरेल, पुष्कर कार्की र धीरु बस्न्यातले पछ्याइरहे पनि सबै कोण र सोचबाट खनाललाई पाखा लगाएर अरूलाई काखा लगाउनुपर्ने कारण केही देखिएको छैन। यद्यपि नेपाली मिडियामा एउटा ट्रायल बेलुनका रूपमा यी नामहरू प्रक्षेपित छन् ।

नेपालमा अब यही पालोका एक ब्याची प्रहरी महानिरीक्षक हुने लगभग निश्चित छ। बर्तमान सरकार पनि यही ब्याचबाट बनाउने मनस्थितिमा रहेको देखिन्छ। सरकारका लागि यो ब्याचको रोष्टरमा सबैभन्दा माथि उपलब्ध छन्, सर्वेन्द्र खनाल । उनलाई रमेश खरेल, पुष्कर कार्की र धीरु बस्न्यातले पछ्याइरहे पनि सबै कोण र सोचबाट खनाललाई पाखा लगाएर अरूलाई काखा लगाउनुपर्ने कारण केही देखिएको छैन। यद्यपि नेपाली मिडियामा एउटा ट्रायल बेलुनका रूपमा यी नामहरू प्रक्षेपित छन् ।

नेपालमा अब कसलाई जनपद प्रहरीको महानिरीक्षक बनाउने भनेर गरिएको यो ट्रायल बलुनमा पनि सर्बेन्द्र नै अब्बल ठहरिएका छन् । उनको पक्षमा तर्क गर्नेहरूले उनका सबल पक्षहरूको यसरी चर्चा गरेका छन् :

१. उच्च वरियताक्रम

सर्वेन्द्र खनाल प्रहरीलाई तीनमहिने तदर्थबादबाट माथि उठाएर स्थायित्व दिनका लागि उपलब्ध रोष्टरको सबैभन्दा उपल्लो नाम हो । उनलाई प्रहरी महानिरीक्षक बनाउँदा बरिष्ठताको सम्मान मात्र हैन कि प्रहरीमा चेन अफ कमाण्ड कायम गर्न पनि सहज हुन्छ। यसबाट बिगतमा वरिष्ठताका कारण सिर्जना भएको भाँडभैलोतन्त्र पनि दोहोरिदैन र प्रहरीमा अनुशासन पनि कायम हुन्छ।

२. नेतृत्व क्षमता

सर्बेन्द्र खनालले यसअघि जे जति जिम्मेवारीहरू पाए, उच्च नेतृत्व क्षमता प्रदर्शन गर्दै सहजतापूर्वक सम्पन्न गरेका छन् । उनी आफू मात्र हैन, आफू मातहतको पूरै टिमलाई पनि परिचालन गर्न सक्षम प्रहरी अधिकारी हुन् । उनी प्रहरीमा चेन अफ कमाण्डको नाममा जबर्जस्ती लाद्ने प्रवृतिका पक्षपाती हैनन् । उनी फुलीको सम्मान र बर्दीको इज्जतबाट नै नेपाल प्रहरीको गरीमा बढ्ने कुरामा विश्वास राख्छन्। उनको यही गुणले नै बर्तमानमा नेपाल प्रहरीलाई सक्षम नेतृत्व प्रदान गर्दछ ।

३. जनमैत्री छवि

विगतमा प्रहरी भन्ने वित्तिकै डर र त्रासको पर्यायका रूपमा रहेको थियो । मुलुकमा लोकतन्त्र स्थापनासँगै त्यो छविमा आमूल परिवर्तन आएको छ । यद्यपि, अझै पनि कतिपय प्रहरीको छवि जनमैत्री छैन । तर, सर्बेन्द्र खनालको छवि भने अपबादका रूमा जनमैत्री रहेको छ । उनको राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय छवि पनि जनमैत्री छ । मुलुकमा लोकतन्त्रको पूर्ण प्रत्याभूतिका लागि पनि जनमैत्री प्रहरीको छवि आबश्यक छ । त्यसका लागि रोष्टरमा रहेका अन्य सम्भावित उम्मेद्वारसँग खनालको तुलना नै हुन सक्दैन।

४. मिडियामैत्री व्यवहार

कतिपय प्रहरी अधिकारीहरू मिडिया जंकी स्वभावका छन् । मिडियाका लागि डाइन एन्ड वीनको नीति लिएका उनीहरू कम प्रहरी र बढी सेलिब्रेटी जस्ता देखिन्छन् । तर, सर्बेन्द्र खनाल भने प्रहरी र मिडियाकर्मीका बीच व्यक्तिगतभन्दा पनि बढी व्याबसायिक सम्बन्ध राख्नुपर्ने सोचका हिमायती हुन् । उनको यो चरित्रका कारण उनी अनाबश्यक रूपमा मिडियामा छाउँदैनन् । उनी काममा विश्वास गर्छन् र कामले नै मिडियामा स्पेस पाउनुपर्ने सोच राख्छन् । उनी मिडियामैत्री छन् तर मिडिया म्यालुपुलेसनमा विश्वास गर्दैनन् । अहिले नेपाल प्रहरीमा मिडियाका बाइप्रोडक्ट सेलिब्रिटीभन्दा मिडियामैत्री नेतृत्व चाहिएको छ । त्यसका लागि पनि सर्बेन्द्रको बिकल्प छैन ।

५. कामकाजी ट्रयाक रेकर्ड

नेपाल प्रहरीको मूल नारा सत्य सेवा सुरक्षामा विश्वास गर्ने सर्बेन्द्र खनाल एक कामकाजी प्रहरी अधिकृत हुन् । प्रहरी अनुशासनको दायरामा रहेर उनले यसअघि पाएका सबै जिम्मेवारीहरू सफलतापूर्वक सम्पन्न गरेका छन् । वीरगञ्जमा रहदाको सीमा तस्करी नियन्त्रण, अपराध महाशाखामा हुँदा फुटबल फिक्सिङको पटाक्षेप, ट्राफिकमा हुँदा जनमैत्री ट्राफिक व्यवस्थापन उनका यस्ता केही अब्बल नजीर हुन् । उनले जुन विभाग र क्षेत्रको जिम्मेवारी पाए, कामले नै सबैको मन जित्दै आएका छन् ।

६. मानवअधिकारप्रतिको प्रतिवद्धता र सम्मान

नेपाल प्रहरीको छवि अझै पनि पूरै मात्रामा मानवअिधकारमैत्री बन्न सकेको छैन । यसमा नेपाल प्रहरीको भन्दा पनि नेतृत्वमा रहेका कतिपय प्रहरी अधिकृतहरूको व्यक्तिगत व्यवहार र आचरणले अहम् भूमिका निर्वाह गरेको छ । तर, सर्बेन्द्र खनाल भने यस मामलामा कन्चन छन् । उनको नेपाल भित्र मात्र हैन, बाहिर पनि मानवअधिकारको कोणबाट बेदाग व्यक्तित्व रहेको छ । मुलुकले जनमैत्री लोकतान्त्रिक शासन व्यवस्था अंगालिसकेको अवस्थामा नेपाल प्रहरीको नेतृत्व पनि मानवअधिकारमैत्री हुन आबश्यक छ । त्यसका लागि पनि अहिलेलाई खनालको विकल्प देखिदैन।

७. विवादरहित व्यक्तित्व

सर्वेन्द्र खनाल नेपाल प्रहरीको उच्च तहमा रहेका प्रहरी अधिकृतमध्ये सबैभन्दा विवादरहित अधिकृत हुन् । उनका समकक्षीहरू मात्र हैन, प्रतिस्पर्धीहरू पनि बेलाबेलामा आफ्नै व्यवहारजन्य क्रियाकलापका कारण विवादमा परेका छन् । पक्ष विपक्षमा बाँडिएर आफ्नो निस्पक्ष छवि नै धुमिल बनाएका छन् । तर, सर्वेन्द्र खनाल भने मिडिया र प्रहरीका बीच व्यावसायिक सम्बन्ध राख्ने र कामका क्रममा कहीँ पनि नचुक्ने चरित्रका कारण बिवादभन्दा टाढै रहदै आएका छन् ।

घुम्दै फिर्दै रूम्जाटार भनेजस्तो भूगोलको नेपाललाई मात्र हैन, भावनाको नेपाललाई पनि एक सक्षम प्रहरी नेतृत्व चाहिएको छ । जसका कारणले घरदेशका आफन्तहरूले सत्य सेवा सुरक्षाको अनुभूति गर्न पाउँन् । अनि, परदेशमा रहेका हामीजस्ता नेपालीले पनि गर्वले भन्न सकौं सर्वेन्द्र खनालजस्ता सक्षम प्रहरी अधिकृतले सम्हालिरहेका छन् हाम्रो देशको प्रहरी नेतृत्व । त्यसैले हाम्रा सुरक्षित छन्, हामी ढुक्क छौं ।

लेखक अमेरिकाको टेक्सास निवासी नेपाली संचारकर्मी हुन् ।

-दैनिक नेपाल बाट साभार