काठमाडौं– प्रतिनिधि सभाको आजको बैठकमा २ वटा अध्यादेश पारित गरिने भएको छ। संघीय संसदको सचिवालयका अनुसार बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश २०७४’ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ लाई निर्णयार्थ पेश गर्नेछन्।

यसअघि चिकित्सा शिक्षा अध्यादेशमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको फरक मतमाथि समेत छलफल हुने बताइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठक आज दिउसो १ बजेका लागि बोलाइएको छ।

त्यसैगरि आज दिउसो १ बजेका लागि बोलाइएको संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठकले नेपाली कांग्रेसका पूर्वसांसद खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यतालिका छ। खड्काको गत शुक्रबार भारतको एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

उनी २०४८, २०५१ र २०५६ सालमा दाङ जिल्लाबाट प्रतिनिधी सभाको सदस्यका लागि निर्वाचित भएका थिए। उनले पटक–पटक गरी विभिन्न मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए।

नेपाल लाइभ बाट साभार