विशिष्ट व्यक्तिको (भिआइपी) सुरक्षाका लागि खटिने अनावश्यक प्रहरी र चालकका रुपमा खटिएका सुरक्षाकर्मी फिर्ता भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा अनावश्यक रुपमा खटिएका सुरक्षाकर्मी र सवारी चालक फिर्ता भएका हुन् ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म ६३ सुरक्षाकर्मी फिर्ता भएका छन् । फिर्ता हुनेहरुमा ५६ जना पिएसओ र सात सवारी चालक प्रहरी रहेका नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अनावश्यक रूपमा नेता कहाँ रहेका प्रहरीका गाडी चालक फिर्ता हुने क्रम जारी रहेको प्रवक्ता नेउपानेको भनाई छ । अहिलेसम्म पूर्वमन्त्री र नेताहरूले लिएका चालकलाई फिर्ता बोलाईएका हुन् ।

कांग्रेस नेता अर्जुनरसिंह केसी, मिनेन्द्र रिजाल, नरहरी आचार्य, शंकर भण्डारी र मुख्य सचिवलगायतका ब्यक्तिको चालकका रूपमा रहेका ७ जना प्रहरी चालक पनि फिर्ता भएको प्रहरीले जनाएको छ।

वर्षौँदेखि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री र सरकारी कर्मचारीले आफू अनुकूलका पिएसओ माग गर्ने चलन छ। जसको लिखित रेकर्ड राख्ने गरिएको छैन। सुरक्षा संवेदनशीलता हेरेर गृह मन्त्रालयले भीआइपी तथा भीभीआइपीको सुरक्षा व्यवस्थामा खटिने प्रहरीलाई दुई वर्षभन्दा बढी एकै ठाँउमा नखटाउने नीति तय गरे अनुसार फिर्ता बोलाउन थालिएको हो। केन्द्रबिन्दु डट कम बाट साभार