सर्लाही, २० चैत– हरिवन नगरपालिकाका नगरप्रमुख गणेश प्रसाईंलाई फोनबाट २५ लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । फिरौती रकम माग गर्ने योजनाका मुख्य योजनाकार प्रमोद बैठालाई सर्लाही प्रहरीले मलंगवा नगरपालिका ८ बाट आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
२६ वर्षीय बैठाले मेयर प्रसाईंसँग २५ लाख रुपैयाँ फिरौती रकम माग गरेको सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् । बैठाले सर्लाही क्षेत्र नं. ४ (क) का प्रदेश साँसद विरेन्द्र प्रसाद सिंहलाई समेत फोन गरि फिरौती मागेका थिए ।
बैठाले आफू जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समुह कार्यकर्ता हो भनेर फिरौती माग्ने गरेको र फिरौती बापतको रकम नदिए ज्यान मार्ने तथा अपहरण गर्ने धम्की दिँदै आएको मेयर प्रसाईंले बताए ।










