काठमाडौं, २० चैत । खानेपानी मन्त्री नियुक्त भएको साता दिन नबित्दै बिना मगरले मेलम्चीको अनुगमन गरिन् । विभागीय मन्त्रीले गरिरहेको नियमति जस्तै मेलम्ची खानेपानी परियोजनाको स्थलगत अध्ययन पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिनाले काठमाडौंको मेलम्ची सपनालाई पुरा गर्ने अठोट गरिन् । अहिले मन्त्री बिना ‘मिशन मेलम्ची’मा सक्रिय छिन् ।
१० वटा काम भन्दा एउटा यस्तो काम गर जसले तिमिलाई सम्झनायोग्य बनाउँछन् भन्ने नीतिलाई उनले अख्तियारी गरेकी छन् । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको मेलम्ची गुरूयोजना पुरानो हो तर यसको व्यवाहारिक कार्यान्वयनमा ढिलो भएपछि सल्लाहकारहरूको सुझाबमा बिना मेलम्ची काठमाडौंमा ल्याउने मिशनमा सक्रिय भएकी हुन् ।
मन्त्रालयका अन्य कामभन्दा पनि यहि परियोजनामा ध्यान दिएकी उनले काठमाडौंमा भएको एउटा साक्षात्कारमा भनिन्, ‘असारभित्र सुन्दरीजलमा र दशैंभित्र काठमाडौंमा मेलम्ची जसरी पनि आउँछ ।’ यहि काममा उनले विभागीय कर्मचारीहरूलाई पनि सक्रिय हुन निर्देशन दिएकी छन् ।
बिनाले भनेको समयमा काठमाडौंमा मेलम्चीको पानीको सुविधा जनताको धारासम्म पुराउनका लागि डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सडक विस्तार गरेको विषयले प्रभावित बनाएको प्रतित हुन्छ । ‘मन्त्रीलाई सम्झिरहने विषय जनताको प्रत्यक्ष जीवनसँग जोडिको समस्या समाधान गर्दा हुने भएकाले मन्त्रीले यो मिशन बनाएको हुनुपर्छ । यसै पनि मेलम्चीका धेरै काम सम्पन्न भएर काठमाडौंमा पानी ल्याउन धेरै समय लाग्ने थिएन ।’, खानेपानी मन्त्रालयका एक अधिकारीले भने, ‘काम धेरै पुरा भइसकेको थियो, मन्त्रीको निर्देशनले केही दिन छिटो होला ।’
लामो परियोजना भएकाले यसमा हरेक सरकार र सरकारी निकायको चासो थियो । पटक–पटक निर्देशन भएकाले यसको समयसीमालाई राजनीतिक मुनाफाका लागि पनि प्रचार गरिएको हुनसक्ने अनुमान छ ।’, मन्त्रालय स्रोतले भन्यो
साधारण देखिने तर महत्वपूर्ण विषयमा काम गर्ने जाँगरका लागि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको मार्गलाई बिनाले पछ्याएको टिप्पणी पनि हुने गरेको छ । पहिलो पटक मन्त्री भएको कार्यकालमा लालबाबुले कर्मचारीलाई अनुशासनमा राखेर चर्चामा आएको बिनाले देखेकी छन् ।
केपी ओली क्याबिनेटकी कान्छी मन्त्री बिनाले मेलम्चीको कामबारे हरेक दिन जानकारी लिने पनि गरेकी छन् । प्रत्येक दिन कति मिटर खनियो, कति मिटर पाइप विच्छ्याइयो भन्नेसम्मको जानकारी उनले राख्ने गरेकी छन् ।
राजनीतिलाई प्रभावकारी देखाउनका लागि बिनाको यो मिशन चलिरहेको हुनसक्ने पनि कतिले अनुमान गरेका छन् । ‘लामो परियोजना भएकाले यसमा हरेक सरकार र सरकारी निकायको चासो थियो । पटक–पटक निर्देशन भएकाले यसको समयसीमालाई राजनीतिक मुनाफाका लागि पनि प्रचार गरिएको हुनसक्ने अनुमान छ ।’, मन्त्रालय स्रोतले भन्यो ।
त्यसो त दशैंअघि नै मेलम्चीलाई काठमाडौंमा ल्याउनका लागि मन्त्रालयले निर्देशन नपाएको होइन । एक वर्ष अघि नै व्यवस्थापिका संसदले मेलम्ची चाँडो भन्दा चाँडो ल्याउनका लागि निर्देशन दिएको थियो ।
२२ चैत २०७२ को तत्कालि व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले मेलम्चीको काम गत वर्षको दशैंअघि नै सक्न निर्देशन दिएको थियो । समितिले खानेपानी तथा सरसफाई मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीसँग छलफल गरेपछि आयोजनाको कामको प्रगति विवरण प्रत्येक महिना समितिमा पेश गर्न सचेत गराएको थियो । समितिका तत्कालिन सभापति डोरप्रसाद उपाध्यायले नै यो निर्देशन दिएका थिए ।
समितिले आयोजना निर्माणका लागि हालसम्म भएका वित्तीय व्यवस्थापनसम्बन्धि सम्पूर्ण वितरण एक हप्ता भित्र समितिमा पेश गर्न पनि मेलम्ची खानेपानी आयोजनालाई निर्देशन दिएको छ। समितिले मेलम्ची खानेपानीको पाइप विस्तारका क्रममा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा आएको समस्या समाधान गर्न, वातावरणीय प्रदुषण न्यूनिकरण गर्ने कार्यलाई प्रभावकारी रुपमा संचालन गर्न पनि मेलम्ची खानेपानी आयोजनालाई निर्देशन दिएको थियो । त्यहि बेला खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मेलम्ची खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिए । मेलम्ची खानेपानी आयोजनाका प्रमुख इन्जिनियर घनश्याम भट्टराईले आयोजनाको निर्माण कार्यबारे समितिलाई जानकारी गराएका थिए ।
अघिल्लो वर्षको जेठभित्र सुरूङ निर्माण भइसकेको थियो भने पाइप विच्छ्याउने काम चलिरहेको थियो । ‘त्यहि गतिमा भएको कामलाई मन्त्री बिना मगरले निगरानीमा राख्नु भएको हो, दशैंसम्म पानी आउँछ ।’, मेलम्ची आयोजनाका एक अधिकारीले भने,‘फटाफट काम भइरहेको छ ।’ सुन्दरीजलसम्म पाइपलाइन विच्छयाउनका लागि अब ५५ मिटर मात्र बाँकी छ । यो कामका केही दिनभन्दा बढि लाग्दैन । सुन्दरीजलमा पानी आएपछि काठमाडौंमा पानी झार्न कत्ति पनि समय लाग्ने छैन ।
दैनिक नेपाल बाट









