काठमाडौं ।

दार्चुलाबाट निर्वाचित सांसद गणेशसिह ठगुन्नाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा दार्चुलाको सीमानाकाका विषयमा कुरा गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्वसन्ध्यामा संसदमा बोल्दै सांसद ठगुन्नाले लिपलेक र कालापानीको बारेमा भारतसँग कुरा गर्न सुझाव दिएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संसदमा बोल्दै सांसद ठगुन्नाले भने ‘नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने सीमा नाकाको विषयमा धेरै समयदेखी विवाद हुँदै आएकोमा प्रधानमन्त्रीले भारत भ्रमणको विषयमा सीमा विवाद अन्त्यका लागि पहल गर्नुपर्छ ।’

तिंकर नाका खोल्नुपर्छ

सांसद ठगुन्नाले दार्चुलाको तिंकर नाका सञ्चालनमा ल्याउनु पर्ने बताए । दार्चुला सदरमुकामबाट नेपालको अन्तिम सीमा लिपुलेकसम्मको दुरी जम्मा १ सय १० किलोमिटर छ, संसदमा ठगुन्नाले भने ‘कैलाश मानसरोबरसम्म जम्मा १ सय ५० किलोमिटरको दुरी छ । त्यसैले तिंकर नाकालाई चीनसँग धार्मीक र पर्यटकिय नाकाको रुपमा विकास गर्नुपर्छ ।’

भारतसँग राम्रो व्यापारिक सम्बन्ध बनाएर लिपुलेकलाई त्रिदेशीय व्यापारिक नाकाको रुपमा विकास गर्न पनि सांसद ठगुन्नाले माग गरेका छन् ।

महाकाली नदिमा ७ पुल

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलेको सरकारले तुईनमुक्त गर्ने घोषणा गरेसँगै महाकालीमा बनाउने भनिएका पुलहरु अझै नबन्दा स्थानीयले सास्ती खेप्नुपरेको सांसद ठगुन्नाले बताए ।

संसदमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गर्दै ठगुन्नाले भने, ‘महाकाली नदिमा ७ वटा पुल बनाउने भनिएको थियो तर अहिले सम्म पनि भारतले अनुमति नदिँदा पुल निर्माणको काम अगाडी बढ्न सकेको छैन्, प्रधानमन्त्रीको भारत भ्रमणका बेला यो विषयमा पहल गर्न आग्रह गर्दछु ।’

तिंकर सडकमा सेना पठाउनुपर्छ

त्यस्तै सांसद ठगुन्नाले राष्ट्रिय गौरवको आयोजनामध्येको एक दार्चुला तिंकर सडक निर्माणमा भइरहेको ढिलाईप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन् । विस्पोटक पदार्थको अभावमा सडक विस्तारको काम रोकिएको छ, ‘विस्पोटक पदार्थ उपलब्ध गराउन सरकारसँग माग गर्दछु, ठगुन्नाले भने सेनाले विस्पोटक पदार्थ उपलब्ध गराउने मात्रै होईन उक्त सडक निर्माणको जिम्मा पनि लिनुपर्छ यसका लागि सरकारले पहल गर्नुपर्यो ।’

पञ्चेश्वरको विषयमा भारतसँग कुरा गर्नु

सांसद ठगुन्नााले प्रधानमन्त्री ओलीलाई पञ्चेश्वर जलविद्युत आयोजनाको विषयमा पनि भारतसँग कुरा गर्न अनुरोध गरेका छन् । सांसदमा बोल्दै सांसद ठगुन्नाले भने ‘पञ्चेश्वर ७ नम्बर प्रदेशको मात्रै नभएर देशको गौरबको आयोजना भएकाले अविलम्ब सञ्चालनका लागि अनुरोध गर्दछु ।’

ओलीको आश्वासन

भारत भ्रमणमा नेपालको हितमा महत्पूर्ण सम्झौता हुने प्रधानमन्त्री ओलीले बताएका छन् । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दार्चुला लगायत महाकाली नदिमा भएका तुईन हटाउने योजना अनुरुप निर्माण हुने पुल, सडक विस्तार र जलविद्युतका सवालमा भारतले जिम्मा लिएका आयोजनाहरु चाँडो सम्पन्न गर्ने विषयमा भारतसँग कुरा गर्ने आश्वासन दिएका छन् ।

-केन्द्रबिन्दु बाट