प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गर्न लागेको भारत भ्रमणकाबारेमा उठाउनु पर्ने विषयका सम्बन्धमा पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बिहान प्रधानमन्त्री ओलीले गरेको परामर्शमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, लोकेन्द्रबहादुर चन्द तथा पूर्वमन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी) सदस्यहरु भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्यायलगायतका परराष्ट्रविद्हरु सहभागी थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुले भारतसँगको सम्बन्ध सुधार, विकास निर्माणमा सहयोगलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । साथै उनीहरुले राष्ट्रहित विपरीत र मुलुकलाई दीर्घकालीन असर पर्ने कुनै पनि सम्झौता नगर्न पनि सचेत गराएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री ओलीले यही चैत २३ देखि तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली जाँदैछन् ।