काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भारत भ्रमणमा जाँदैछन् । भ्रमण मिति दुई दिनमात्रै रहँदा पनि प्रधानमन्त्रीको भ्रमण टोलीको पुरापुरी टुंंगो लगिसकेको छैन ।

परराष्ट्र मन्त्रालय तथा प्रधानमन्त्रीको निजी सचिवालयको समन्वयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भ्रमण टोलीको तयारी मंगलबार राति अबेरसम्म गरिरहेको थियो । ‘नामहरु राख्ने/छाँट्ने काम भइरहेको छ,’ राति १० बजे सम्पर्कमा आएका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक सहसचिवले भने, ‘सम्भवतः बुधबार साँझसम्म प्रधानमन्त्रीलाई नाम बुझाउँछौं ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारका प्रवक्तासमेत रहेका सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले भने तीन मन्त्री र निजी सचिवालका केही सदस्यको भ्रमण टुंगिएको बताए । उनका अनुसार भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा योजना मन्त्री रघुवीर महासेठ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव रहनेछन् ।

निजी सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य, राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार कुन्दन अर्याल रहने टुंगो लागेको छ । दुई निजी चिकित्सक डा. विद्या सिंह र यादव भट्ट रहने सम्भावना छ ।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका केही निश्चित व्यक्तिलाई पार्न सूची दिएका छन् । तीमध्ये कलाकार राजेश हमालको नाममात्रै बाहिरिएको छ । ‘कलाकारलाई पनि साथमा लैजान सिम्बोलिक व्यक्ति रहन्छन्,’ निजी सचिवालय स्रोत भन्छ, ‘कलाकार टिम ठूलो रहँदैन ।’

भ्रमणको सूची बनाइरहेका एक सहसचिवले प्रधानमन्त्रीसहित मन्त्रीहरु, निजी सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ४१ जनाको सूची बनाउने बताए । परराष्ट्र मन्त्रालयबाट ७ जना रहनेछन् । उनका अनुसार सरकारी खर्चमा ४८ जना रहनेछन् भने निजी खर्चमा जानेहरुको अलग्गै सूची बन्दैछ । निजी खर्चमा जाने पत्रकारको सूची भने प्रेस सल्लाहकार कुन्दन अर्यालले तयार गरिरहेका छन् ।

दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाई भ्रमणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक फोनबाट र एक पटक औपचारिक पत्र पठाएका थिए । ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि भारतले प्रस्ताव गरेको थियोे । तर नेपालले एक दिन पहिला हुने जवाफ पठायो । भारतले ओलीको अनुकूल हुने गरी चैत २३ देखि २५ मा सहमति जनाएको छ । पहिलो प्रधानमन्त्रीका रूपमा ओलीले २०७२ फागुन ७ देखि ११ सम्म भारत भ्रमण गरेका थिए ।

ओलीले आसन्न भारत भ्रमण विगतका सम्झौता र प्रतिबद्धता छिटो कार्यान्वयन गर्नेमा केन्द्रित हुने बताएका छन् । उनले दोस्रो भ्रमणमा विवादास्पद सम्झौता नगर्ने दाबी गरेका छन् ।

अहिलेसम्म फाइनल भएको सूचीः प्रधानमन्त्रीः केपी शर्मा ओली प्रधानमन्त्री पत्नीः राधिका शाक्य परराष्ट्रमन्त्रीः प्रदीप ज्ञवाली भौतिक पूर्वाधार तथा योजना मन्त्रीः रघुवीर महासेठ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीः मातृका यादव स्वकीय सचिवः राजेश बज्राचार्य राजनीतिक सल्लाहकारः विष्णु रिमाल प्रेस सल्लाहकारः कुन्दन अर्याल निजी चिकित्सकद्धयः डा. विद्या सिंह र यादव भट्ट कलाकारः राजेश हमाल अन्यको नाम फाईनल हुन बाँकी

केन्द्र बिन्दु बाट साभार