काठमाडौं । यतिबेला विभिन्न भीआईपी तथा भीभीआईपीहरुको सुरक्षामा खटिएका अनावश्यक सुरक्षाकर्मी फिर्ता भईरहेका छन् । प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सुरक्षाकर्मी र सवारी चालकको रुपमा खटिएका प्रहरीलाई फिर्ता बोलाई रहेको छ ।
प्रहरीको अनुमान अनुसार विभिन्न व्यक्तिको सुरक्षामा १५ हजार भन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । तर आधिकारिक विवरण भने प्रहरीसँग छैन् । पूर्व राजा, पूर्व राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न सरकारी उच्च अधिकारीहरु, विभिन्न राजनीतिक दलका नेताहरु लगायतको सुरक्षामा प्रहरीले सुरक्षाकर्मी खटाएको छ ।
उनीहरुले आ–आफ्ना नीजि सुरक्षाकर्मी समेत राखेका छन् । प्रहरीले थप सुरक्षाकर्मी पनि खटाउँदै आएको छ । अब ती अनावश्यक रुपमा रहेका सबै सुरक्षाकर्मी फिर्ता हुन लागेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म ५७ जना सुरक्षाकर्मी र १७ जना चालक गरी ७४ प्रहरी फिर्ता भएका छन् ।
पूर्वप्रधानन्यायाधीशदेखि मन्त्री र सांसदहरूले नियमविपरीत लिएका अंगरक्षक र सवारी चालक सुविधा खोसिएका हुन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, केशवप्रसाद उपाध्यायको सुरक्षामा खटिएका पीएसओलाई फिर्ता बोलाएको छ ।
त्यस्तै पूर्वमन्त्रीहरु रमेश लेखक, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, नवीन्द्रराज जोशी, उमाकान्त चौधरी, चित्रलेखा यादव, नरहरि आचार्य, गणेशमान पुन, विश्वनाथप्रसाद साह, अजयशंकर नायक, उमेश यादव, महेन्द्र पाण्डे, रामजनम चौधरी, दिनेश श्रेष्ठ, प्रेमबहादुर सिंह, इन्द्र बानियाँ लगायतको सुरक्षागार्ड पनि फिर्ता बोलाइएको छ ।
पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वगृहसचिव गोविन्द कुसुम, पूर्वमन्त्रीहरु सुरेन्द्रकुमार कार्की, रिजवान अन्सारी, सांसद अमरेशकुमार सिंह लगायतको सवारी चालक रहेका १७ जनालाई पनि फिर्ता बोलाइएको छ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले २०७५ बैशाख १ गते आफ्ना सुरक्षागार्ड फिर्ता गर्ने घोषणा गरेका छन् ।
संघीयतामा गएसँगै १० प्रतिशत प्रहरी भीआईपीको सुरक्षामाः नेपाल संघीयतामा गएसँगै भीआईपी तथा भीभीआईपीको संख्या पनि बढेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको सभाअध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्री, प्रदेशमन्त्रीहरु लगायतको सुरक्षामा करिब ६ हजार ५ सय भन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।
त्यस्तै बहालवाला तथा अवकाश प्राप्त पदाधिकारी तथा अन्य व्यक्तिका अंगरक्षक, निवास, कार्यालय र स्कर्टिङसहितको सुरक्षामा करिव २ हजार भन्दा बढी प्रहरी जनशक्ति खटिँदै आएका छन् । प्रहरी बाहेक भीआईपी तथा भीभीआईपीको सुरक्षामा सशस्त्र प्रहरी र नेपाली सेना पनि खटिदैं आएका छन् ।
विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन २०७० अनुसार प्रदेश सभामुख, मुख्यमन्त्री, प्रदेश प्रमुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभा सभामुख लगायतको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिदैं आएका छन् ।
त्यस्तै विभिन्न चरणमा सम्पन्न निर्वाचनमा उम्मेदवारको सुरक्षामा खटिएका सुरक्षाकर्मी पनि फिर्ता हुँदैछन् । निर्वाचनको समयमा सुरक्षा उनीहरुमाथि सुरक्षा खतरा बढेको भन्दै खटिएका सुरक्षाकर्मी अझै फिर्ता भएका छैनन् । प्रहरी हेडक्वाटरले यस्ता सुरक्षाकर्मीलाई पनि तत्काल फिर्ता हुन निर्देशन दिएको हो ।
केन्द्रबिन्दु डट कम बाट साभार









