काठमाडौं २१ चैत- नेकपा एमाले संसदीय दलको सचेतकमा शान्ता चौधरी नियुक्त भएकी छिन् । एमाले संसदीय दलको बुधवार बसेको बैठकले चौधरीलाई सचेतक नियुक्त गरेको हो । संसदीय दलको बैठकले सुवासचन्द्र नेम्वाङलाई दलको उपनेता र खगराज अधिकारीलाई प्रमुख सचेतक नियुक्त गरेको छ ।
पूर्वकमलरी चौधरी पहिलो संविधानसभाको समयमा संसदको प्राकृतिक स्रोत साधन समितिको सभापति थिइन् । संसदीय समितिको सभापति कुशल ढंगले चलाएकी चौधरीलाई यसपटक सचेतकको जिम्मा दिइएको हो ।
१८ वर्ष कमलरी बसेकी शान्ताले सांसद भएपछि औपचारिक अध्ययन शुरु गरेकी थिइन् । शान्ताको ‘कमलरीदेखि सभासदसम्म’ पुस्तक चर्चित छ । उनी एमालेको बैकल्पिक केन्द्रीय सदस्य पनि हुन् ।
‘पार्टीले दिएको जुनसुकै भूमिका निभाउन तयार छु,’ शान्ताले लोकान्तरसँग भनिन् ।










