२२ चैत्र,काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मनपरि शुल्क असुल्ने निजी विद्यालयलाई कार्वाही गर्ने चेतावनी दिएका छन्।शिक्षा ऐनको नवौं संशोधन र शुल्कवृद्धिका विषयमा आन्दोलनरत प्रमुख तीन विद्यार्थी संगठनसंग मन्त्री पोखरेलले सो धारणा राखेका हुन्।

आज शिक्षा मन्त्रालयमा ज्ञापनपत्र वुझ्दै मन्त्री पोखरेलले भने-' हामीले शुल्क निर्धारण मापदण्ड निर्देशिका ल्याइसकेका छौं।यसलाई नमान्ने कमजोरी कसैले नगरोस्।' पोखरेलले मापदण्ड विपरीत जताभावी शुल्क लिनेलाई कार्वाही गर्ने वताएको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी शिक्षा ऐनको नवौं संशोधन खारेज गर्न अविलम्ब दशौं संशोधनको प्रकृया अगाडि वढाउन विद्यार्थी नेताहरुले माग गरेका छन्। शिक्षा मन्त्रीलाई वुझाइएको मागपत्रमा भनिएको छ- ' फाष्ट ट्रयाकको माध्यमबाट शिक्षा ऐनको नवौं संशोधन खारेज गर्न दशौ संशोधनको प्रक्रिया अबिलम्व अघि बढाइयोस् ।'

मन्त्री पोखरेलले यङ्ग ब्लडलाई शिक्षक सेवामा भित्र्याउन आफुले विशेष ध्यान केन्द्रित गरेको वताए। विगतमा पोखरेल शिक्षा मन्त्री भएकै वेला शिक्षा ऐनको आठौं संशोधनमा शिक्षक पद पुर्तीका लागि ५१ प्रतिशत खुल्ला र ४९ प्रतिशत आन्तरिकको कोटा छुट्याएको थियो । पछि गोपालमान श्रेष्ठका पालामा यसलाई नवौं संशोधन मार्फत उल्ट्याई २५ प्रतिशत खुल्ला र ७५ प्रतिशत आन्तरिकबाट पदपुर्ती गर्ने बनाईयो ।

आज शिक्षा मन्त्रीलाई ज्ञापनपत्र वुझाएका तीन विद्यार्थी संगठनले भोलि सरोकारवाला सम्मिलित अन्तरक्रिया कार्यक्रम गर्दैछन्।तत्पश्चात् संघीय संसदका प्रत्येक सदस्यलाई दशौं संशोधनका पत्राचार गर्ने उपाध्यक्ष बस्नेतले वताए।