१८ चैतमा पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित पूर्वको सहर दमकमा पुगिन् । पूर्वराजा तथा हिमानीका ससुरा ज्ञानेन्द्र शाह एक महिनादेखि बसेको हिमालयन टि गार्डेनमा हिमानी पनि पुगेकी थिइन् । ज्ञानेन्द्र कोमलसहित पूर्वको घुमघाममा व्यस्त थिए । घरेलु घुमघाममा सरिक हुनका लागि स्कुल छुट्टी भएको समय पारेर हिमानी छोरासहित त्यहाँ पुगेकी हुन् ।
नाती हृदयेन्द्रको शक्ति पिठ घुम्ने रहर पुरा गर्नका लागि ज्ञानेन्द्रले विहीबारमात्रै धरानका तीन धार्मिकस्थलको भ्रमणसँगै पूजा गरे ।

दन्तकाली, पिन्डेश्वरी र बुढासुव्वामा परिवारसहित ज्ञानेन्द्र पुगेका थिए । त्यसबेला उनी अघि–अघि र हृदयेन्द्र पछि–पछि थिए । ‘हिमानी सरकार आएपछि धरानको यो भ्रमण तय भयो । दिनभरी तीन शक्तिपीठ घुमेर सपरिवार दमक फर्कनुभयो ।’, भ्रमण तयारी गर्ने राजावादी युवा सूरज कँडेलले भने,‘नयाँ वर्ष पनि यतै मनाउने तयारी भएको थियो । तर, विदेशी पाहुनालाई समय दिएका कारणले २५ गते फर्किने कुरा छ । टुंगो लागेको छैन ।’

दमकको टि गार्डेनमा ज्ञानेन्द्रको लगानी रहेको बताइन्छ । उनले एक महिना त्यहिँ बसेर विभिन्न व्यक्तिसँग भेट गरेका थिए । तर, राजनीतिक भन्दा धार्मिक र पारिवारिक विषयमा उनी केन्द्रित रहे । सो क्रममा राजावादी पार्टीका विभिन्न तहका नेता र कार्यकर्तासँग पनि उनको भेट भएको थियो ।

राप्रपाका दोस्रो तहका नेतालाई भेट गरेपनि ज्ञानेन्द्रले राजनीतिक आन्दोलन वा राजतन्त्रका लागि संगठित हुन कुनै सुझाव दिएका छैनन् । कँडेलले भने,‘फुटेर होइन जुटेर बसेको राम्रो मात्र भन्नुभएको हो बाँकी कुरा बकम्फुस्से कुरा हुन् ।’

पूर्वराजासँग अनेक निकायका व्यक्ति, राजनीतिज्ञ, पत्रकार र पूर्वेली कलाकारले पनि भेट्ने इच्छा व्यक्त गरेका कारणले उनले समय दिँदै आएका छन् । शुक्रबार र शनिबार भारतका विभिन्न धार्मिक प्रतिष्ठानबाट निम्तो दिन आएको टोली समेत रहेको स्रोतले बतायो । ज्ञानेन्द्रले उक्त टोलीसँग धार्मिक सभा सम्मेलनका विषयमा छलफल गर्नेछन् ।

https://youtu.be/esZ5PnuzUX0
-फोटो : सुरज कंडेलको फेसबुक तथा दैनिक नेपाल बाट










