बनेपा । धुलिखेल-काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो । यही मौका छोप्दै बस व्यवसायीले यात्रुपिच्छे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए ।तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयुरसहित अन्य बसलाई बनेपा पठाउन थालेपछि काभ्रे बस समितिले बिहीबारदेखि सबै बसमा भाडादर टाँस्न थालेको छ ।

एक व्यवसायीले भने, ‘हामीले प्रत्येक बसमा भाडादर सूची टाँस्न अनिवार्य गरेका थियौं । तर, सहचालकहरूले मनलाग्दी भाडा लिँदा समस्या आएको हो,’ चैत १ मा बनेपा आउँदा मयुर यातायातले कोटेश्वर-काठमाडौंको ३५ रुपैयाँ भाडादर कायम गरेको थियो । तर, तीन सातासम्म भाडादरमा पुनर्विचार नगरेका व्यवसायीले बिहीबारबाट एक्कासी भाडा घटाएको सूचना बसमा टाँसेपछि यात्रु अचम्ममा परेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘हिजो साझा बस पनि आयो । अरू बस पनि आए,’ एक यात्रुले भने, ‘त्यही भएर होला बिहीबारदेखि यताका बसवालाले बनेपा-काठमाडौंको भाडा ३५ रुपैयाँ गरेका रहेछन् ।’ यतिखेर काभ्रे बस व्यवसायी संघले बनेपा-काठमाडौं ४० रुपैयाँ, बनेपा-कोटेश्वर ३५ र बनेपा-सूर्यविनायक २० रुपैयाँ भाडादर कायम गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।