बिर्तामोड । एक दशक अघिसम्म पूर्वको हङकङ बजारको रूपमा परिचित झापाको धुलाबारी बजारमा कपडा र सजावटका सामान किन्न भारतीय चर्चित कालाकारदेखि सर्वसाधारणको भीड लाग्ने गथ्र्यो। नायक र नायिकाको किनमेलको पहिलो रोजाइ हुने गथ्र्याे सीमानाको यो नेपाली बजार। चलचित्रमा लगाउने पहिरन यहीँ बजारमा किनमेल हुन्थ्यो।

त्यतिबेला चीनबाट सोझै झापाको धुलाबारी बजारमा सामान आयात हुन्थे। सस्तो र राम्रो चिनियाँ सामान सोझै पुग्थ्यो भारततर्फ। सस्तो चिनियाँ सामान भारतीय रोजाइमा पर्ने भएकाले घुइँचो नै लाग्थ्यो। तर, धुलाबारीको त्यो साख धेरै कालसम्म टिक्न सकेन। अहिले सीमा वारी र पारीका उपभोक्ताको रोजाइ सीमा पारीकै बजार भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय व्यापारी राजीव जैन भन्छन्, ‘ती सामान नेपालभन्दा भारततर्फ सस्तो र गुणस्तरीय हुँदा हिजोआज सीमापारीका ग्राहक यहाँ आउँदैनन्।’ उनले कुनैबेला खुबै चम्किएको धुलाबारी अहिले निकै खस्किएको सुनाए।

‘कुनै समय चीनबाट सोझै झापाको धुलाबारीमा सामान आयात हुने गरेका थिए भने आजभोलि भारतीय बजारमा सोही सामान यहाँभन्दा सस्तोमा पाउने हुँदा भारतीय नागरिक किनमेलका लागि आउने कुरै भएन। नेपाली उपभोक्ता पनि भारततर्फको बजार जाने गरेका छन्’, व्यापारी जैन बताउँछन्।

धुलाबारीमा अर्का पुराना व्यापारी मित्तल श्रेष्ठ विगतका तुलनामा मानिसको चहलपहल घट्नुमा भारतसँगको खुला सीमाना पनि मुख्य कारण भएको बताउँछन्। ‘जताततैबाट चोरी गरी लैजाने र ल्याउने मार्ग प्रशस्तै छन्। नेपालका सस्ता सामान पनि सोझै भारत पुग्छ। भारतले पनि चीनसँग नाका खुलाएको छ। सबै सामान नेपालभन्दा भारतीय बजारमा छिटो पुग्छ। त्यही भएर धुलाबारीको बजार सुस्ताएको हो’, व्यापारी मित्तल भन्छन्।