दमक/आध्यात्मिक चेतनाको विकास , प्राणी जगतको कल्याण र विश्व शान्तीको कामना गर्दै झापाको लखनपुरमा आउँदो पुष १७ गते आयोजना हुने अन्तराष्ट्रियस्तरको अनुष्ठान (दुख हरण पूजा)बारे सोमबार सार्वजनिक रुपमा जानकारी गराइएको छ ।
हेभेन्ली पाथ हेडक्वार्टर हेभेन्लीको आयोजनामा अंग्रेजी सम्वत अनुसार नयाँ बर्ष अर्थात जनवरी १ तारिखको अवसर पारेर हरेक बर्ष आयोजना गरिदैं आएको त्यस किसिमको कार्यक्रम यस पटक लखनपुर १ मा निर्माणाधिन आदिवासी रंगशालामा गर्ने तयारी भईरहेको पनि कार्यक्रममा जनाइयो ।
सो अवसरमा हेभेन्ली पाथ नेपालका केन्द्रीय अध्यक्ष क्याप्टेन खेमाहाङ मादेनले हेभेन्ली पाथ मानव एकता , प्रेमवादी दर्शनको एउटा साझा मार्ग भएको बताए । उनले यस मार्गका प्रत्युत्पादक ओमनन्द धार्मिक र सामाजिक सुधारका अनुयायी गुरुका रुपमा पहिचान बनाईसकेका व्यक्तित्व भएको बताए । उनले सो दुखहरण पूजाको महत्व र औचित्यबारे पनि प्रष्ट्याएका थिए ।
त्यस अवसरमा विशिष्ट संरक्षक सदस्य क्याप्टेन बुद्धिबहादुर राई, हेभेन्ली पाथ युवा नेपालका केन्द्रीय अध्यक्ष यादव वान्तवासहित हेभेन्ली पाथका यात्रीहरुसहित पूर्व सभासद विश्वदिप लिङदेन, सशस्त्र प्रहरी बल पाथिभरा गण लखनपुरका गणपति प्रेमराज पोखरेल, इलाका ट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज दिनेशचन्द्र अधिकारी, नेपाली कांग्रेसका नगर सभापति रोशन विष्ट, नेकपा एमालेका नगर इञ्चार्ज, अम्बिका खनाल, नेकपा माओवादी केन्द्रका क्षेत्रीय इञ्चार्ज समेत रहेका दमक रवि चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरी, संघीय समाजवादी फोरमका जिल्ला उपसचिव सुशील राई, मधेसी जनाधिकार फोरम लोकतान्त्रीकका स्थानीय नेता रामाशीष शाह, किराँत राई यायोक्खाका केन्द्रीय सदस्य दिपेनवाला राई, आदिवासी जनजाती महासंघ दमकका अध्यक्ष बासुदेव राई, नेपाल तामाङ घेदुङ संघकी जिल्ला उपाध्यक्ष हर्कमाया तामाङ लगायत स्थानीय संघ संस्था र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु सहभागि थिए । उनीहरुलाई प्रेमवादको दर्शन, गुरु ओमनन्द र दुखहरण पूजाका विशेषताहरु र यसले समाजमा निर्वाह गरिरहेको सेवामुलक कामहरु आदिका बारेमा श्रव्यदृश्य सामग्रीको प्रयोगबाट जानकारी गराइएको थियो । सो कार्यक्रममा हेभेन्ली पाथ झापा शाखाका उपाध्यक्ष राम चाम्लिङले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन रमा श्रेष्ठले गरेकी थिइन् ।



