अन्तर्राष्टिय स्तरको क्रिकेट स्टेडियम निर्माणका लागि जग्गा खोज्दै धुर्मुस–सुन्तलीको टोली पोखरा आएर फर्किएको छ । करीब १ साता अघि स्टेडियम निमार्ण गर्ने घोषणा गरेका उनीहरुले सम्भावित र उपयुक्त स्थानको खोजी गर्दै पोखरा आएका हुन् । उनीसँगै नेपाल क्रिकेट संघ क्यानकी पूर्व कार्यकारी अधिकृत भावना घिमिरे, फाउण्डेशनका पदाधिकारी र प्राविधिकसहितको टोली पोखरा आएको थियो ।

मुलपानीको क्रिकेट मैदान सरकार आफैंले निर्माण गर्ने बताएपछि टोली पोखरा आएको हो । टोली पोखरा रंगशालामा रहेको क्रिकेट मैदान, क्रिकेट मैदानको लागि प्रस्ताव गरिएको पशुपति घाट र हेमजामा रहेको मैदानको अवलोकन गरी काठमाडौँ फर्किएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पोखरा आएको टोलीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलको टोलीले पोखरामा रहेको सम्भावित स्थान, पोखरामा बन्दै गरेका खेल संरचनालगायतका बारेमा जानकारी गराए ।

पौडेलले पोखरामा स्टेडियम निमार्ण गर्ने भए फाउण्डेशनलाई आवश्यक पर्ने जग्गा उपलव्ध गराउने प्रतिबद्धता जनाए । उनले डिपिआर बनाउनेदेखि आवश्यक अन्य सहयोग गर्नसमेत तयार रहेको बताए ।

पोखरामा सम्भावित स्थानहरु हेरेपछि धुर्मुसले पोखरासँगै अन्य स्थानमा जमिनको कुनै समस्या नरहेको प्रतिक्रिया दिए । उनले स्टेडियम अन्तर्राष्टिय क्रिकेट संघ आइसिसिले तेकोको मापदण्डअनुसार निमार्ण हुने भएकाले खेलका लागि उपयुक्त वातावरण, सुरक्षा, अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल, होटललगायतका सुविधाहरु आवश्यक रहेको बताए ।

टोलीसँगै फाउन्डेसनका इन्जिनियर रविभुषण झाले मल्टि परपोज वास्केट बल, टेवुलटेनिस लगायतका खेल खेल्न मिल्ने हिसावले स्टेडियम निमार्ण हुने भएकाले २–३ सय रोपनी जग्गा आवश्यक पर्ने बताए । आइसिसिको मान्यता अनुसार निमार्ण हुने स्टेडियममा ४० हजार दर्शक अट्ने क्षमताको हुनुपर्ने र निमार्णका लागि २ अर्ब बढी खर्च लाग्ने उनले बताए ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलकाअनुसार पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा नै स्टेडियम निमार्ण गर्न टोलीलाई सल्लाह दिएको छ । करीब ९० रोपनी क्षेत्रफलमा फैलिएको हालको क्रिकेट मैदानमा आइसिसिले तेके अनुसारको स्टेडियम बनाउन सकिने छ । नया पत्रिका बाट