काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा तीन वटा ‘गेम चेञ्जिङ’ सहमति भएको छ। भारतका विदेश सचिव विजय गोखलेले दुई देशबीच भएका तीन सम्झौतालाई ‘गेम चेञ्जिङ’ सहमति भएको जानकारी दिए।
प्रधानमन्त्रीको तीन दिने भ्रमणका क्रममा दुई देशबीच कृषि क्षेत्रमा नवीन साझेदारी, भारतको रक्सौलदेखि काठमाडौँसम्म इलेक्ट्रिफाइड रेल लिंक र इनल्याण्ड वाटर कनेक्टिभिटीका क्षेत्रमा तीन वटा सहमति भएका छन्।
रेल लिंक
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको महत्त्वपूर्ण सम्झौता दुई देशबीचको रेल लिंक हो। भारतको सीमावर्ती सहर रक्सौलदेखि काठमाडौँसम्म नयाँ इलेक्ट्रिफाइड रेल कनेक्टिभिटीको विषयमा समेत सहमति भएको छ।
दुई देशबीच आर्थिक तथा जनसम्बन्ध विस्तार, विकासका क्षेत्रमा प्रगति हासिल गर्नका लागि दुई देश रक्सौल–काठमाडौँ रेल लिंक जोड्न सहमत भएका हुन्। दुई देशका प्रधानमन्त्री स्तरमा भएको छलफलमा भारतको आर्थिक सहयोगमा रक्सौलदेखि काठमाडौँसम्म रेलमार्ग बनाउन सहमति भएको हो।
यसको पहिलो कदम स्वरुप भारत सरकारले नेपाल सरकारको समन्वयमा प्रारम्भिक अध्ययन एक वर्षभित्र सम्पन्न गर्ने सहमति समेत भएको छ। त्यस्तै दुबै देशले लगानीको मोडेलको विषयमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का आधारमा तय गर्ने सहमति समेत भएको छ।
नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले रेलमार्ग निर्माणका लागि भारत सरकारलाई पूर्ण सहयोग र साझेदारीको प्रतिवद्धता समेत व्यक्त गरेका छन्। त्यस्तै दुई देशबीच जयनगर–जनकपुर र जोगवनी विराटनगर रेलमार्ग सन् २०१८ भित्र सम्पन्न गर्ने त्यस्तै जयनगर–विजलापुर–बर्दिवास र जोगबनी– विराटनगर रेलमार्गलाई प्राथमिकतामा राखी काम अगाडि बढाउने समेत सहमति भएको छ।
त्यस्तै दुई प्रधानमन्त्रीले न्यू जलपाईगुडी–काकडभिट्टा र नौतनवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रेलमार्ग निमार्णका लागि अध्ययनलाई अगाडि बढाउने सहमति भएको छ।
जलमार्ग
नेपाल भारतबीच जलमार्ग विस्तारका क्षेत्रमा समेत सहमति भएको छ। यस क्षेत्रको आर्थिक विकासका लागि दुबै देशका प्रधानमन्त्रीहरु ‘इनल्याण्ड वाटर वे’को विस्तारका क्षेत्रमा सहमति भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त सम्मेलनमा भनेका थिए, ‘सगरमाथाको देश अब सागरसँग जोडिने छ।’ दुई देशका प्रधानमन्त्रीहरु नेपालको सामुद्रिक पहुँचका लागि इनल्याण्ड वाटरवे (जलमार्ग) विकासमा सहमत भएका हुन्।दुई देशबीच इनल्याण्ड वाटरवेको विकासका लागि दुई देशका प्रधानमन्त्रीहरुले यसको मोडालिटी, निमार्ण प्रक्रियाका क्षेत्रमा काम थाल्न सम्बन्धि देशका अधिकारीहरुलाई निर्देशन दिने सहमति भएको छ। त्यस्तै नेपाल भारत पारवहान सन्धीको प्रोटोकलमा इनल्याण्ड वाटर वेलाई समेत समावेश गर्न निर्देशन दिने सहमति भएको छ।
कृषि क्षेत्रमा साझेदारी
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तीन बूँदे कृषि क्षेत्रमा साझेदारी सम्बन्धी साझेदारीका विषयमा सहमति भएको छ।
दुई देशबीच कृषि क्षेत्रमा साझेदारीका विषयमा भएको सहमतिमा दुई देशले कृषि विज्ञान र प्रविधि, कृषि उत्पादन, कृषि प्रशोधन क्षेत्रमा साझेदारी गर्ने उल्लेख छ। दुई देशबीचका किसान, उपभोक्ता तथा वैज्ञानिक समुदाय र निजी क्षेत्रबीच साझा फाइदाका क्षेत्रमा साझेदारी गरेर अगाडि बढेर जाने बताइएको छ।
त्यस्तै दुई देशबीचका कृषि मन्त्रालयबीच साझेदारी गरेर अगाडि बढ्न समहमति समेत भएको छ। कृषि अनुन्धान, विकास, शिक्षा, प्रशिक्षण, छात्रवृत्तिका क्षेत्रमा दुई देशका मन्त्रालयले समन्वय गर्ने सहमति भएको छ। कृषि अनुसन्धान, प्रांगारिक मलको अनुसन्धानलगायतका क्षेत्रमा भारतको कृषि अनुसन्धान परिषद र नेपालको कृषि अनुसन्धान परिषदबीच साझेदारी गर्ने सहमति भएको छ।
त्यस्तै दुई देशबीच साभेदारीका प्राथमिकताका विषयमा छलफल गर्न छिट्टै पहिलो बैठक बस्ने र कार्ययोजना निमार्ण गर्ने सहमति समेत भएको छ। त्यस्तै भारतले नेपालको प्रांगारिक कृषि, माटो परीक्षणका विषयमा पाइलट प्रोजेटक्टको घोषणा गर्ने सहमति समेत भएको छ। बिजमान्डू










