काठमाडौँ, चैत २४ – नेपालमा प्रधानमन्त्री चयनभएपछि पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्छ भन्ने परम्परागत मान्यता तोड्न नसकेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले केही कुरामा भने निरन्तरतामा क्रमभङ्ग गर्न सफल हुनुभएको छ ।
पहिलोपटक नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको आन्तरिक राजनीतिक मामिलाका विषय छलफल र वक्तव्यमा परेन । यसअघि भएका नेपालका प्रधानमन्त्रीहरुको हरेकजसो भ्रमणमा राजनीतिक मुद्धाहरु प्राथमिकताका साथ उठ्ने गथ्र्यो । तर यसपटकको भ्रमणमा भने विकास, समृद्धि र सुरक्षाका विषय प्राथमिकतामा रहे ।
प्रधानमन्त्री चयनपछि राजदूतको जस्तो ओहोदाको प्रमाणपत्र बुझाउन नेपालका प्रधानमन्त्री भारत पुग्छन् भन्ने आमधारणा पनि ओलीको भ्रमणले गलत सावित गरिदिएको छ । नेपालको समृद्धि र विकासमा अघि बढ्ने ओलीको योजनामा सहकार्य गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तयार हुनुले पनि यो भ्रमण निकै उपलब्धीमुलक मान्न सकिन्छ ।
नेपालको संविधानप्रति असहमति राख्दै नेपालविरुद्ध नाकाबन्दी समेत लगाएको भारतले त्यही संविधानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुद बनाउन आवश्यक सहयोग गर्न तत्पर भएको छ । शक्तिशाली प्रधानमन्त्री बनेर भ्रमणमा गएका ओलीलाई खुसी पार्न मोदीले कुनै कन्जुस्याइँ गर्नुभएन । विमानस्थलमा अवतरण गरेदेखि नै विशेष सम्मानका साथ स्वागत गरेको भारतले संयुक्त वक्तव्यबाजी गर्दासम्म उच्च सम्मान र महत्व दियो ।
संयुक्त वक्तव्यका क्रममा मोदीले सुरु र अन्तमा नेपाली बोल्नु र नेपाली भाषामै ट्वीट गर्दै दिल्लीमा ओलीलाई स्वागत छ भन्नुले आफूप्रति नकारात्मक रहेको नेपाली मन जित्न खोजेको प्रष्ट बुझ्न सकिन्छ ।
संयुक्त पत्रकार सम्मेलनमा मोदीले ओली र आफ्नो नारा अब एउटै भएको भन्नुले झनै भ्रमण अर्थपूर्ण बनाइदियो । भ्रमणका क्रममा ओलीले कुनै नयाँ र विवादास्पद सम्झौता नगरी सद्भाव र छिमेकीबीचको सम्बन्ध सुमधुर गर्नेमै सीमित गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धि र विकासका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
झण्डै दुई तिहाई भन्दा बढी समर्थन सहितको शक्तिशाली र स्थिर सरकार बनेको भन्दै मोदीले ओलीसग मनैदेखी सहकार्य गर्न इच्छुक रहेको प्रष्ट पार्नुभयो ।
कस्ता छन् सहमति ? भारतले संघीय लोकतान्त्रीक देश नेपालको विकास, समृद्धिमा जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनायो । दुबै देशका प्रधानमन्त्रीबीच कृषि क्षेत्रमा सहकार्य गर्ने, रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग विस्तार गर्ने र जलमार्गबाट नेपाललाई जोड्ने विषयमा सहमति भए ।
दुई देशबीचको सम्बन्धलाई समानता, आपसी विश्वास, लाभ र सम्मानका आधारमा नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता दुबैदेशका प्रधानमन्त्रीले जाहेर गरे । भ्रमणका क्रममा मोतीहारी–अमलेखगञ्ज सीमापार पेट्रोलियम पदार्थ पाइपलाइन बिछ्याउने परियोजना र वीरगंज स्थित इन्टिग्रेटेड चेकपोस्टको स्वीच थिचेर उद्घाटन गरियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जल मार्ग र रेलमार्गमा जोड्न भारतले सहयोग गर्ने बताउनुभयो । मोदीले भन्नुभयो, ‘सगरमाथाको देश अब सागरसँग प्रत्यक्ष जोडिने छ ।’ उज्यालो अन्लाइन बाट










