वर्तमान सरकारको काम कारबाहीप्रति सरकारको मुख्य सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै असन्तुष्ट देखिएका छन् । पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा सरकार गठन गरे पनि सरकार सञ्चालन प्रक्रियाप्रति दाहालले असन्तुष्टि जनाएका हुन् ।

‘अहिले सरकार सञ्चालन सही तरिकाबाट भएको देखिन्न,’ प्रेस सेन्टरका नेताहरूलाई शनिबार अध्यक्ष दाहालले भने, ‘सरकार सञ्चालनको विधि तौरतरिका अपनाएर अघिबढ्नुपर्ने देखिन्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दाहालले प्रधानमन्त्री वा मन्त्रीहरूको कार्यशैली ठीक नभएको बारे भने विस्तृतमा खुलाएनन् । तर, उनले सरकारको काम प्रभावकारी ढंगले अघि बढाउन विधि बनाएरै अघि बढ्नुपर्नेमा भने जोड दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णयका रूपमा बिहीबार साँझ ३० सचिवको सरुवा गरेका थिए । कुनै पनि मन्त्रीहरूसँग सुझाव र छलफल नै नगरी सचिवहरूको सरुवा भएको भन्दै एमाले–माओवादी दुवै पार्टीबाट सरकारमा सहभागिता जनाउने मन्त्रीहरू नै सचिव सरुवाको विषयमा असन्तुष्ट छन् ।

स्रोतका अनुसार गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले अध्यक्ष दाहालसँग भेटेर सचिव सरुवाबारे असन्तुष्टि जनाएका छन्, राजधानी दैनिकमा खबर छ ।